फिदिम र राँकेमा यात्रु सहायता कक्ष स्थापना
पाँचथर::नेपालीका प्रमुख चाड बडादशैँ, तिहार र छठ नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने भएकाले उनीहरुको सहजताका लागि पाँचथरका २ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक प्रहरीको समन्वयमा फिदिम र राँकेमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको हो ।
चाडपर्वका बेला घर फर्किने तथा विभिन्न गन्तव्यतर्फ जाने यात्रुको संख्या बढ्ने भएकाले यात्रुलाई आवश्यक सूचना, सहयोग तथा सुरक्षासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो ।
सहायता कक्षमार्फत यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोको सुनुवाइ, आवश्यक जानकारी र सहजीकरण गरिने कर्णको भनाइ छ ।
सार्वजनिक सवारीसाधनमा हुने भीडभाड, यात्रुसँग हुन सक्ने दुव्र्यवहार तथा अन्य सम्भावित समस्या न्यूनीकरणमा समेत सहायता कक्षले समन्वय गर्ने जनाइएको छ ।
चाडपर्वका समयमा सवारी साधनको चाप बढ्ने भएकाले ट्राफिक नियमको पालना गर्न, क्षमता भन्दा बढी यात्रु नराख्न तथा यात्राका क्रममा कुनै समस्या भए सहायता कक्ष वा नजिकको प्रहरीलाई जानकारी गराउन प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।



