पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थी अब्बल


पाँचथर बहुमुखी क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्दै राष्ट्रियस्तरमै अब्बल नतिजा हासिल गरेका छन् ।
हालै प्रकाशित नतिजाअनुसार हिलिहाङ गाउँपालिका–५ का आदित्य रेग्मीले ८७ प्रतिशत र फिदिम नगरपालिका–१ का उद्देश्य खनालले ८६ दशमलव ८ प्रतिशत अङ्क प्राप्त गरेका हुन् । 
पाँचथरको पुरानो शैक्षिक संस्थाका रूपमा रहेको यस क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तथा शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको छ ।
विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले विद्यार्थीको मेहनत, प्राध्यापकको मार्गदर्शन र क्याम्पसको शैक्षिक वातावरणले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको बताउनुभयो ।
उत्कृष्ट नतिजा हासिल गरेका उद्देश्य खनालले आगामी दिनमा अध्ययनलाई निरन्तरता दिँदै आफ्नो ज्ञान र सीपलाई व्यावहारिक क्षेत्रमा प्रयोग गर्ने योजना रहेको बताउनुभयो । 
उहाँका अनुसार नियमित अध्ययन, विषयवस्तुलाई बुझेर पढ्ने बानी, समय व्यवस्थापन र परीक्षाको तयारीलाई प्राथमिकतामा राखेकै कारण राम्रो नतिजा हासिल गर्न सम्भव भएको हो ।
उनीहरूको उत्कृष्ट नतिजाले पाँचथर बहुमुखी क्याम्पससँगै जिल्लाको शैक्षिक क्षेत्रमा उत्साह थपेको छ ।
पछिल्लो नतिजाले क्याम्पसले गुणस्तरीय शिक्षाका लागि गरेको प्रयासको सकारात्मक परिणाम देखाएको क्याम्पस प्रमूख ढुंगानाको भनाई छ ।
उहाँले विद्यार्थीले लक्ष्य स्पष्ट बनाएर नियमित रूपमा मेहनत गर्ने हो भने सीमित स्रोतसाधनका बिच पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस्