पाँचथरमा चाडबाड लक्षित सुरक्षा निगरानी बढाउँदै प्रहरी
पाँचथर ::ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै सम्भावित अपराध र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पाँचथर प्रहरीले चाडबाड लक्षित गाउँबस्तीमा लामो दूरीको ग्रामीण गस्ती (एलआरपी) सञ्चालन गरेको छ ।
इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–वडा नम्बर २, ३ र ४ तथा तुम्बेवा गाउँपालिका–४ का विभिन्न वडा र संवेदनशील क्षेत्रमा गस्ती गरेको हो ।
प्रहरी टोलीले स्थानीय नागरिक सँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी चाडवाड लक्षित शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षाका विषयमा जानकारी गराएको पाँचथरका प्रहरी नायव उपरीक्षक अनिष कर्णले बताउनुभयो ।
यो संगै स्थानीयका सुरक्षा चासो र समस्या समेत सुनेर आवश्यक समन्वय गरिएको कर्णले बताउनु भयो ।
जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा प्रहरीको उपस्थिति बढाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले लामो दूरीको ग्रामीण गस्ती सञ्चालन गरिएको कर्णको भनाइ छ ।
उहाँका अनुसार ग्रामीण क्षेत्रमा प्रहरीको नियमित उपस्थिति र निगरानी बढाउँदा सम्भावित अपराध तथा विपद्का घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
“नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउँदै ग्रामीण क्षेत्रमा प्रहरीको पहुँच विस्तार गर्ने उद्देश्य गस्ती सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “सुरक्षा चुनौती रहेका तथा संवेदनशील क्षेत्रमा निगरानीलाई थप प्रभावकारी बनाउँदै नागरिक मैत्री प्रहरी सेवा प्रवाहमा जोड दिएका छौँ ।”
प्रहरीले ग्रामीण क्षेत्रमा हुने सम्भावित अपराध, प्राकृतिक विपद् तथा अन्य सुरक्षा चुनौतीलाई ध्यानमा राखी यस्ता गस्तीलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।



