बाढी पीडितलाई फिदिम नगरपालिकाको ४७ लाख सहयोग
पाँचथर::भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि फिदिम नगरपालिकाले ४७ लाख ४९ हजार ४५० रुपियाँ ७० पैसा सहयोग गरेको छ ।
फिदिम नगरपालिकाको नगर कोष, नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी र शिक्षकबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
विपत्तिमा परेका नागरिकको राहत, उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम राहत कोषमा जम्मा गरिएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
विपत्तिका कारण ठूलो जनधनको क्षति भएकामा फिदिम नगरपालिकाले दुःख व्यक्त गरेको छ ।
नगरपालिकाले विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको गर्नुका साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको पीडामा साथ दिनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै नगरपालिकाले राहत तथा उद्धारका प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।
प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका काममा समेत आवश्यक सहयोग जारी राख्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विपत्तिबाट प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग र सहकार्यका लागि सबै पक्षलाई आह्वान समेत गरेको छ । भोटेकोशी क्षेत्रमा भएको विपत्तिमा प्रभावित नागरिक प्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ ।



