फिदिममा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो


पाँचथरको फिदिममा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । फिदिम नगरपालिका र ज्येष्ठ नागरिक जिल्ला संघ पाँचथरको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
दिवसका अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै उनीहरूका अनुभव, आवश्यकता र अधिकारका विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकले भजनकीर्तन तथा नाचगान प्रस्तुत गर्दै आफ्ना अनुभव र भावना समेत साटासाट गरेका थिए ।
फिदिमस्थित सिद्धेश्वर शिवालय मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० भन्दा बढी ज्येष्ठ नागरिक सहभागी थिए । कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायतले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले जीवनको लामो समय परिवार, समाज र राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको अनुभव र ज्ञान नयाँ पुस्ताका लागि महत्वपूर्ण रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई परिवार र समाजबाट सम्मानजनक व्यवहारका साथै आवश्यक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभूति दिलाउन सबै पक्षको भूमिका आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक सँगै जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । सहभागी ज्येष्ठ नागरिकले आफ्ना समस्या, आवश्यकता र अपेक्षाका विषयमा समेत धारणा राखेका थिए ।

कार्यक्रमले ज्येष्ठ नागरिकप्रति परिवार र समाजको दायित्वबारे ध्यानाकर्षण गराउँदै उनीहरूको सम्मानजनक जीवनयापनका लागि स्थानीय तह, सरकारी निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको थियो ।
 

प्रतिकृया दिनुहोस्