पाँचथरमा जोखिमयुक्त बस्तीमा सचेतनाका लागि प्रहरीद्धारा माइकिङ



पाँचथर::अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढे संगै जिल्ला प्रहरी कार्यालय पाँचथरले जोखिमयुक्त बस्तीमा पुगेर साँझपख माइकिङ गरेको छ ।
प्रहरीले तमोर नदीको किनारमा रहेका माझी बस्ती, हेवा खोला आसपासका क्षेत्रलगायत जोखिमयुक्त स्थानमा पुगेर स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरेको हो ।
 बुधबारदेखि भइरहेको अविरल वर्षा अझै केही समय जारी रहने मौसमी प्रक्षेपण पछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नागरिकलाई पूर्वसूचना दिन माइकिङ थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख अनिष कर्णले बताउनुभयो ।
माइकिङका क्रममा प्रहरीले बाढी, पहिरो तथा नदी कटानको जोखिम रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 
जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट समेत गरी सम्भावित विपद्का विषयमा सचेत गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्