पाँचथरमा रातको समयमा सवारी आवागमन बन्द
पाँचथर:: बुधबारदेखि भइरहेको वर्षाको सम्भावना अझै लम्बिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका प्रमुख सडकमा रातभर सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले विहिबार प्रेस विज्ञप्ती मार्फत असोज ९ गतेदेखि ११ गते बिहानसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म मेची राजमार्ग, तमोर करिडोर, फिदिम–फालोट, रवि–राँके–भेडेटार तथा मध्यपहाडी सडकखण्डमा सवारी आवागमन बन्द गर्न भनेको हो ।
गत वर्षको अविरल वर्षापछि जिल्लाभित्रका विभिन्न सडकमा पहिरो गई सडक संरचना जीर्ण तथा जोखिमपूर्ण अवस्थामा रहेको र यस वर्ष असोज ७ देखि निरन्तर पानी परिरहेकाले सम्भावित क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताँउनुभयो ।
प्रशासनले जिल्लाका भित्री सडक तथा बाटाघाटामा समेत रातिको समयमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।
अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न र अत्यावश्यक काम परेमा नजिकको प्रहरी प्रशासनको सहयोग लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
त्यसैगरी, अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनले नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले मौसमजन्य विपद्का कारण सडक तथा यातायातमा जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरेको छ ।



