अविरल वर्षाका कारण पाँचथरका अधिकाशं सडक अवरुद्ध


पाँचथर::अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । 
बाढीका कारण तमोर करिडोरअन्तर्गत नावा खोलामा सडक पूर्ण रूपमा बन्द भएको छ भने यासोक–उत्तरे सडकखण्डको देउराली भिरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तमोर करिडोरअन्तर्गत नावा खोलामा पानीको बहाव बढेपछि सडकबाट आवतजावत गर्न नसक्ने अवस्था भएको हो । पानीको बहाव घटेपछि मात्रै सडक पुनः सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायवउपरिक्षक अनिष कुमार कर्णले जानकारी दिनु भएको छ ।
यस्तै यासोक–उत्तरे सडकखण्डको देउराली भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत दोभाने खोलामा करिब दुई मिटर सडकको भाग खोलातर्फ झरेपछि सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सडक थप क्षतिग्रस्त हुने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ ।
यसैगरी फिदिम नगरपालिका–१४ लुङ्गरुपा र फुल्पा जोड्ने सडकसमेत निरन्तरको वर्षाका कारण पुनः बन्द भएको स्थानीय प्रदिप राइले बताउनु भएको छ । राइका अनुसार सडकको अवस्था बिग्रिएपछि चारपाङ्ग्रे सवारीसाधन मात्र नभई मोटरसाइकलसमेत आवतजावत गर्न नसक्ने अवस्था रहेको छ ।
लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा मुख्य सडकमा पहिरो र बाढीको जोखिम बढेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
यसै गरी जिल्लाका राँके–रवि, जोरपोखरी–एकतीन लगायत सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । वर्षाका कारण सडकमा बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रेस विज्ञप्ति जारी गरी जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ । रातको समयमा सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्