पाँचथरका सबै पालिकामा कांग्रेसले चुन्यो सर्वसम्मत नेतृत्व
पाँचथर::नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पाँचथरका आठवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्दै गाउँ नगर अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाका सबै पालिकामा सहकार्य र सहमतिका आधारमा नेतृत्व चयन गरिएको पाँचथर कांग्रेस सभापति रुपनारायण जवेगूले बताउनुभयो ।
जिल्लाको फिदिम नगरपालिकाको सभापतिमा नरेन्द्र गुरुङ चयन हुनुभएको छ । त्यसैगरी फाल्गुनन्द गाउँपालिकाको सभापतिमा कुमार तामाङ, कुम्मायक गाउँपालिकामा टंकबहादुर पौडेल र तुम्बेवा गाउँपालिकामा बाबुराम खड्का चयन हुनुभएको छ ।
सभापतिमा चयन हुनुभएका खड्का तुम्बेवा गाउँपालिकाको अध्यक्षसमेत हुनुहुन्छ । यस्तै, फिदिमका सभापति गुरुङ फिदिम–३ का वडाध्यक्ष रहनुभएको छ ।
यसैगरी मिक्लाजुङ गाउँपालिकाको सभापतिमा गणेश वाजी, हिलिहाङ गाउँपालिकामा टेकराज योङहाङ, फालेलुङ गाउँपालिकामा वीरविक्रम थाम्सुहाङ र याङवरक गाउँपालिकामा दीपक प्याकुरेल चयन हुनुभएको सभापति जबेगुले जानकारी दिनुभयो ।
फालेलुङको सभापतिमा निर्वाचित थाम्सुहाङ पनि सो गाउँपालिकाको निर्वाचित अध्यक्ष रहनुभएको छ ।
जबेगुका अनुसार जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा नेतृत्व चयनका क्रममा आपसी सहमति कायम गरी सर्वसम्मत रूपमा सभापति चयन गरिएको हो । पालिका तहको नेतृत्व चयनसँगै जिल्लामा महाधिवेशनको प्रक्रिया थप अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका आठ वटै पालिकामा नेतृत्व चयन गर्दा पार्टीभित्रको सहकार्य, एकता र सहमतिलाई प्राथमिकता दिइएको कांग्रेस पाँचथरले जनाएको छ । पालिका नेतृत्व चयन सर्वसम्मत भएपछि अब महाधिवेशन अन्तर्गतका अब असोज १२ गते क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी छ ।
पाँचथरमा फिदिम नगरपालिका तथा फाल्गुनन्द, कुम्मायक, तुम्बेवा, मिक्लाजुङ, हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् ।



