नावा खोलामा पानीको बहाव बढेपछि तमोर करिडोर अवरुद्ध

पाँचथर:: बुधबार साँझदेखि भइरहेको वर्षाका कारण आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ। धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले जानकारी दिनुभयो।

यो सडकले सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्छ।

बिहीबार बिहानदेखि नै सडक अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरबाट धरान तथा विराटनगर र विराटनगर तथा धरान हुँदै पहाडी जिल्लातर्फ यात्रामा निस्किएका सवारीसाधन र ढुवानीका साधन बाटोमै अलपत्र परेका छन्।

पानीको बहाव अत्यधिक रहेकाले यात्रु तथा सवारीसाधनलाई जोखिम नमोल्न पाँचथर प्रशासनले आग्रह गरेको छ।

पाँचथरसहित आसपासका जिल्लामा बुधबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ। जसका कारण तमोरसहित हेवा र फेमे खोलामा पानीको बहाव बढ्दै गएको स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्