वर्षाको जोखिम बढेपछि पाँचथरका विद्यालय दुई दिन बन्द
पाँचथर ::मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका सबै शैक्षिक संस्थामा दुई दिन आकस्मिक बिदा दिइएको छ।
असोज ८ र ९ गते पाँचथरसहित देशभर वर्षाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका विद्यालय दुई दिन बन्द गर्न निर्देशन दिएको थियो।
मौसम विभागको सूचनालाई ध्यानमा राख्दै जिल्लाका सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न भनिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो। उहाँका अनुसार बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न भनिएको हो।
शनिबार र आइतबार नियमित बिदा रहेकाले पाँचथरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्।
यसैबीच, फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको आग्रह तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
मौसम विभागले असोज ८ गतेदेखि १२ गतेसम्म वर्षाको उच्च जोखिम रहेको जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
निरन्तर वर्षा
यसैबिच, पाँचथरमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ। जिल्लाभर मध्यम वर्षा भइरहे पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको जनाइएको छ।



