पाँचथरमा एक लाख २७ हजार पशु चौपायालाई खोप लगाइँदै
पाँचथरमा एक लाख २७ हजार दुई सय ३० पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइने भएको छ ।
चालु आर्थिक वर्ष २०८३।०८४ मा उक्त पशु चौपायालाई खोप लगाइने भेटेनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । जसका लागि असोज ७ गतेदेखि अभियान सुरु गरिने बताइएको छ ।
प्रदेश सरकार, पशु स्वास्थ्य विभागको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाँचथरको अगुवाइमा सञ्चालन हुने अभियानमा खोरेत, पिपिआर र स्वाइन फिभरविरुद्धको खोप लगाइनेछ। अभियान सञ्चालन गर्न जिल्लाका आठवटै स्थानीय तहमा खोप पठाइएको छ । साथै ८४ जना खोपकर्ता परिचालन गरिने छ ।
केन्द्रका निमित्त प्रमुख निरजकुमार भट्टराईका अनुसार खोप लगाइने पशु चौपायामध्ये १५ हजार दुई सय ३० लाई खोरेत, एक लाख तीन हजारलाई पिपिआर र २० हजारलाई स्वाइन फिभरविरुद्धको खोप लगाउने लक्ष्य छ ।
खोपकर्ताले सम्बन्धित पशुपालकको घर तथा गोठमै पुगेर पशु चौपायालाई खोप लगाउनेछन्। खोप लगाएपछि सोही स्थानबाट पशुको विवरण सफ्टवेयरमा प्रविष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ ।
खोप लगाइएका पशु चौपायाको अभिलेख राख्नुका साथै पशुधनीलाई खोप कार्ड उपलब्ध गराउनुपर्ने व्यवस्था पनि अनिवार्य गरिएको केन्द्रले जनाएको छ । खोप अभियानको अनुगमन जिल्ला खोप समन्वय समिति, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सम्बन्धित स्थानीय तहले गर्नेछन् ।
खोपकर्तालाई पशु अभिलेख व्यवस्थापनसम्बन्धी तालिम समेत दिइएको छ। जिल्लामा रहेका पशु चौपायालाई रोगबाट सुरक्षित राख्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ ।

.jpeg)

.jpeg)