पाँचथर कांग्रेसका ६० वटै वडामा नेतृत्व सर्वसम्मत
पाँचथर::नेपाली कांग्रेस पाँचथरले जिल्लाका ६० वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनका क्रममा देखिएका नेतृत्वका आकांक्षालाई छलफल र सहमतिमार्फत टुङ्ग्याउँदै सबै वडामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।
जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामध्ये ४१ वडामा शनिबार र बाँकी १९ वडामा आइतबार अधिवेशन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि वडामा निर्वाचन गर्नुपर्ने अवस्था नआईकन अधिवेशन सम्पन्न भएको हो ।
जिल्ला सभापति रूपनारायण जबेगूका अनुसार कतिपय वडामा नेतृत्वका लागि धेरै आकांक्षी देखिए पनि आपसी छलफल र सहमतिबाट नेतृत्व चयन गरिएको हो । सर्वसम्मत नेतृत्व चयनले पार्टीको आन्तरिक एकता र सहमतिको अभ्यासलाई बलियो बनाएको उहाँले बताउनुभयो ।
‘वडामा जस्तै अब पालिका, क्षेत्र र जिल्ला अधिवेशनसमेत सर्वसम्मत रूपमा चयन गर्न लागिपरेका छौँ,’ उहाँले भन्नुभयो ।
प्रत्येक वडामा एक सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहितका पदाधिकारी तथा आवश्यकताअनुसार सदस्य चयन गरिएको छ । क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृतहरूले जनाएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि पाँचथरका दुई निर्वाचन क्षेत्रबाट एक हजार तीन सय हाराहारी क्षेत्रीय प्रतिनिधि चयन भएको सभापति जबेगूले जानकारी दिनुभयो ।
वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिले अब क्षेत्रीय, जिल्ला हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागिता जनाउनेछन् ।

.jpeg)

.jpeg)