४४ विद्यार्थीलाई पोशाकसँगै ह्विलचेयर वितरण
पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थित गुह्येश्वरी आधारभूत विद्यालय दुम्सीपोखरीका ४४ जना विद्यार्थीलाई युवा व्यवसायी रञ्जन सम्बाहाम्फेले ७५ हजार रुपियाँ बराबरको विद्यालय पोशाक सहयोग गर्नुभएको छ ।
विद्यालयमा एक कार्यक्रममा आयोजना गरि कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालय पोशाकको व्यवस्थामा सहजता होस भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा पोशाक सहयोग गरिएको सम्बाहाम्फेले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङका अनुसार सहयोगबाट ४४ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन । ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि पोशाक सहयोगले विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।
सोही अवसरमा दाताको सम्मानमा नृत्य तथा कविता प्रस्तुत गर्ने चार जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप जनही ५०० रुपियाँका दरले दुई हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले पोशाक सहयोग गर्ने सम्बाहाम्फेलाई कदरपत्र प्रदान गरी सम्मान समेत गरेको थियो ।
यसै गरी कार्यक्रममा कुम्मायक गाउँपालिकाले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थी साम्योग लावतीलाई ३५ हजार रुपियाँ मूल्यको ह्विलचेयर समेत प्रदान गरेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङ र स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्काको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएको हो ।
दैनिक शैक्षिक गतिविधिमा सहजता ल्याउने उद्देश्यले ह्विलचेयर उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख तामाङले बताउनुभयो। विद्यार्थीलाई पोशाक र आवश्यक सहयोग सामग्री उपलब्ध भएपछि अभिभावकले खुसी व्यक्त गरेका छन । स्थानीयस्तरबाट हुने यस्ता सहयोगले विद्यार्थीमा विद्यालयप्रति थप उत्साह बढाउने शिक्षक–अभिभावक सङ्घका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

.jpeg)

.jpeg)