पाखाबारीमा फस्टाउँदै सिउँडी फल
पाँचथर::कृषिकर्मलाई थाती राखेर काठमाडौँ गएका पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ओमनाथ रिजाल पछिल्लो समय थातथलो फर्केर सिउँडी फल (ड्र्यागन फ्रुट) उत्पादनमा व्यस्त हुनुहुन्छ ।
साबिक भारपा गाविसका उपाध्यक्षसमेत रहनुभएका उहाँले पाँच वर्षअघि लगाएको सिउँडी फलले राम्रो उत्पादनसँगै आम्दानी पनि दिन थालेको छ । बाँझिन लागेको पाखा बारीमा रोपिएका बिरुवा वयस्क हुँदै जाँदा उत्पादन पनि वृद्धि हुने गरेको उहाँले बताउनुभयो ।
कृषिकर्मलाई विस्तार गर्न रिजाल जैविक कृषि फार्म दर्ता गर्नुभएका उहाँले सुरुमा १६ रोपनी जग्गामा परीक्षणका यो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती हाल २० रोपनीमा विस्तार भइसकेको छ । अब खाली रहेको थप १२ रोपनी जमिनमा समेत सिउँडी फलको खेती गर्ने योजना उहाँको छ । रोपेको १८ महिनाभित्र उत्पादन सुरु हुने यो फलले हरेक वर्ष जठेदेखि कात्तिकसम्म उत्पादन दिन्छ । फूल फुलेको २८ दिनभित्रै फल वयस्क भएर पाक्न थाल्ने उहाँ बताउनुहुन्छ । एक पटक रोपेका बिरुवाले २० देखि २५ वर्ष उत्पादन दिने विशेषज्ञहरू बताउँछन् । यतिखेर हिलिहाङका बगानमा तेस्रो सिजनका ड्र्यागन फल पाकेका छन् । यसअघि असारको पहिलो साता पहिलो र साउन पहिलो साता दोस्रो पटक ड्र्यागन पाकेका थिए ।
यसका बिरुवा रोपेपछि हिउँदमा पानी लगाउने र वर्षामा एक/दुई पटक गोडेर मल हाल्नुबाहेक अरू मेहनत गर्नु पर्दैन । यो फलको बजार अभाव पनि छैन । यहाँको मुख्य बजार पाँचथर सदरमुकाम फिदिम हो । थाङ्ग्राका रूपमा फलामका ससाना पिल्लर बनाएर टायरको बाहिरी भाग राखिन्छ ।
पिल्लरका टुप्पामा राखिएको टायरमा जेलिएका बिरुवामा ड्र्यागन उत्पादन हुन्छ । मानव शरीरलाई चाहिने सम्पूर्ण तìव एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फुड पनि भनिन्छ । ड्रागन फ्रुटका अध्येता पूर्णप्रसाद लुइटेलका अनुसार यो फल सेतो र रातो गरी दुई प्रकारका हुन्छन् ।



.jpeg)