मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा पक्राउ
पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मगरले यही भदौ १८ गते राति फिदिम–१ बाट एक थान मोटरसाइकलसँगै ग्यालेण्डर मेसिन, सर्कुलर कटर र ड्रिल मेसिन चोरी गरेको आरोप छ ।
मगरले फिदिम १ नमुना लाइनकै सन्तकुमार राईको प्र.१–०३–००१ प ५१५८ नम्बरको मोटरसाइकल चोररी गरेर बिक्री गर्नका साथै स्थानीय फणिन्द्र सम्बाहाम्फेको घरबाट विद्युतीय उपकरण चोरी गरेको उजुरी परेको थियो ।
मगरले अर्को मे १ प ७०७७ नम्बरको मोटरसाइकल पनि चोरी गरेको आरोप छ । सो मोटरसाइकल भने डाँडा सामुदायिक वन क्षेत्रमा जलाएर पूर्ण रूपमा नष्ट गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
घटनापछि फरार रहेका मगरलाई प्रहरी टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा फिदिम नगरपालिका–१ वरडाँडाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई सोमबार जिल्ला अदालत पाँचथरबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



