पाँचथर प्याब्सनले जुटायो बाढीपीडितलाई दुई लाख ८२ हजार
पाँचथर ::रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि पाँचथरका निजी तथा आवासीय विद्यालयहरूले दुई लाख ८२ हजार ६ सय ६६ रुपियाँ सहयोग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाँचथरको समन्वयमा जिल्लाका विभिन्न विद्यालयबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरी केन्द्रीय प्याब्सन राहत कोषमा जम्मा गरिएको हो ।
प्याब्सन पाँचथरका अनुसार विपद्को दुःखद् घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागितामा सहयोग रकम सङ्कलन गरिएको प्याब्सनका जिल्ला अध्यक्ष नबिन ओझाले बताउनुभयो ।
कोषमा विद्या वरदान इङ्लिस बोर्डिङ स्कुलले एक्लै एक लाख पाँच हजार रुपियाँ उपलब्ध गराएको छ । यस्तै, नयाँ नमुना माध्यमिक विद्यालय र जुनियर फ्लावरबारी इङ्लिस बोर्डिङ स्कुलले २५–२५ हजार, निलकण्ठ भोकेसनल इङ्लिस बोर्डिङ स्कुल, बालकिरण इङ्लिस बोर्डिङ स्कुल, मुक्ततारा इङ्लिस बोर्डिङ स्कुल र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल (राँके) ले समान १५–१५ हजार रुपियाँ सहयोग गरेका छन् ।
यसैगरी समता स्कुलले ११ हजार एक सय ११, नाङ्गिन इङ्लिस बोर्डिङ स्कुलले १० हजार, चोकमागु इङ्लिस बोर्डिङ स्कुलले ११ हजार, माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र रामतारा इङ्लिस बोर्डिङ स्कुलले १०–१० हजार रुपियाँ सहयोग गरेका छन् ।
सनसाइन इङ्लिस बोर्डिङ स्कुल (थर्पु) ले पाँच हजार पाँच सय ५५ तथा मनराज इङ्लिस बोर्डिङ स्कुल (याङवरक) र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल (याङवरक) ले पाँच–पाँच हजार रुपियाँ सहयोग गरेकोे ओझाले बताउनुभयो । यतिका रकम प्याब्सन पाँचथरले प्रधानमन्त्री दैवी प्रकोप केन्द्रीय राहत कोषमा जम्मा गरेको हो ।
प्याब्सन पाँचथरले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य जारी राख्ने जनाएको छ ।


.jpeg)

