शान्तिका प्रतीक परेवा उडाँउदै शान्ति–सद्भावको आह्वान



पाँचथरMM तराईका केही जिल्लामा फैलिएको हिंसाले राष्ट्रिय सद्भाव माथि चुनौती थपिरहेका बेला पाँचथरबाट परेवा उडाएर शान्ति, सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ । 

किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र सुम्हालुङ मन्दिर परिसरबाट शुक्रबार परेवा उडाएर मुलुकमा शान्ति कायम होस् भन्ने कामना गरिएको हो ।

पतञ्जली योग समिति पाँचथर र सुम्जिरी सुम्हालुङ आम्वेपजः संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा फिदिम नगरपालिका–४ स्थित सुम्हालुङ मन्दिरमा आयोजित कार्यक्रममा सहभागीहरूले परेवालाई चारो खुवाएपछि आकाशतर्फ उडाएका थिए । 

परेवालाई विश्वभर शान्तिको प्रतीकका रूपमा लिने परम्पराअनुसार हिंसाको अन्त्य, सामाजिक सद्भावको प्रवद्र्धन र सबै समुदायबीच आपसी विश्वास कायम गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन ।

सहभागीहरूले कुनै पनि प्रकारको हिंसाले समाजलाई विभाजित गर्ने भएकाले संवाद, सहिष्णुता र मेलमिलाप नै दिगो समाधानको आधार भएको धारणा राखेका थिए । उनीहरूले मुलुकमा शान्ति कायम राख्न सबै समुदाय, राजनीतिक दल र सरोकारवाला पक्षबीच आपसी समझदारी आवश्यक रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा शान्तिको सन्देशसँगै प्रकृति संरक्षणलाई पनि जोड दिइएको थियो । मन्दिर परिसरमा गुर्जो, तुलसी, बेललगायत औषधीय गुण भएका जडीबुटीका बिरुवा रोपिएका छन । 
जडीबुटी दिवसको अवसर पारेर औषधीय वनस्पतिको संरक्षण र वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको सुम्जिरी सुम्हालुङ आम्वेपज संरक्षण प्रतिष्ठानका अध्यक्ष नन्दविक्रम लावतीले जानकारी दिनुभयो ।

वृक्षरोपणअघि सहभागीहरूले मन्दिर परिसरको सरसफाइ गरेका थिए । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणलाई समुदायको साझा दायित्वका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी, योगकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा शान्ति, सद्भाव र वातावरण संरक्षण एकअर्कास“ग जोडिएका विषय भएकाले समुदायस्तरबाटै सकारात्मक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइयो ।

गत आइतबार सुनसरीमा दुई समूहबीच भएको झडपपछि सुनसरी, सप्तरी, धनुसालगायत तराईका केही जिल्लामा हिंसा फैलिएको छ । 
घटनामा हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने प्रभावित जिल्लामध्ये चार जिल्लामा कफ्र्यु आदेश जारी गरिएको छ । यही संवेदनशील परिस्थितिबीच पाँचथरबाट शान्ति र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्