कुलो मर्मत सुरु भएपछि किसानको आन्दोलन स्थगित
पाँचथर:: जलविद्युत् आयोजनाको बाँधबाट पानी छाड्दा क्षतिग्रस्त भएको कुलोको मर्मत कार्य सुरु भएसँगै पाँचथरको फिदिम नगरपालिका–४ का किसानले आफ्नो आन्दोलन स्थगित गरेका छन्।
फिदिमस्थित २२.१ मेगावाट क्षमताको माउण्टेन हाइड्रोले पूर्वसम्झौता अनुसार क्षतिग्रस्त कुलोको मुहान मर्मत नगर्दा रोपाइँ गर्न नपाएको भन्दै किसानले आयोजनाबाट हुँदै आएको विद्युत उत्पादन बन्द गराएर आन्दोलन सुरु गरेका थिए।
स्थानीय प्रशासनको समन्वयमा आयोजना सञ्चालकले क्षतिग्रस्त कुलो मर्मतका लागि एक्साभेटर पठाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको स्थानीय किसान होमबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार कुलोको मुहान मर्मतका लागि पुगेको एक्साभेटरले बिहीबार मध्याह्नदेखि काम सुरु गरिसकेको छ। कुलो मर्मतको काम प्रारम्भ भएसँगै विद्युत उत्पादनमा गरिएको अवरोध पनि हटाइएको छ।
पटक-पटक अनुरोध गर्दा पनि ध्यान नदिएका आयोजना सञ्चालकहरू विद्युत उत्पादन नै ठप्प भएपछि मात्र कुलो मर्मत गर्न सहमत भएका हुन्। कुलो मर्मतको विषयलाई लिएर किसानले आन्दोलन चर्काएपछि पूर्वसर्त अनुसार काम गराउन आयोजनालाई ताकेता गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो।
किसानको आन्दोलन र स्थानीय प्रशासनको पहलमा कुलो मर्मतको काम अघि बढाइएको आयोजनाका सुपरभाइजर रामबहादुर थापाले स्वीकार गर्नुभयो। आयोजना निर्माणपूर्व खेतीपातीका लागि खोलाको कम्तीमा १० प्रतिशत पानी अनिवार्य छाड्ने र आयोजनाका कारण बिग्रिएका कुलाहरू मर्मत गरिदिने सम्झौता भएको थियो। तर, विगत तीन वर्षदेखि कुलो मर्मत नहुँदा सिँचाइमा सास्ती भोग्नुपरेको किसानहरूको गुनासो छ।
अहिले मर्मत कार्य सुरु भएसँगै आयोजनाले आगामी दिनमा पनि सम्झौता अनुसारका सर्त पालना गर्ने र पुनः आन्दोलनमा उत्रिनुपर्ने अवस्था नआउने अपेक्षा किसानहरूले गरेका छन्।



