बुबाको स्मृतिमा २० जना विद्यार्थीलाई निःशुल्क ट्र्याकसुट वितरण

फिदिमःः फिदिम १ स्थित थाङसाङ आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई निःशुल्क ट्र्याकसुट वितरण गरिएको छ । स्वर्गीय शिवप्रसाद न्यौपानेको स्मृतिमा उहाँका सुपुत्र लोकेश न्यौपानेले विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ट्र्याकसुट उपलब्ध गराउनु भएको हो । स्वर्गीय न्यौपानेको जन्म वि.सं. २०२६ असोज ९ गते पाँचथरमा भएको थियो। २०५५ असोज १ गते निजामती सेवामा प्रवेश गरी गाउँ विकास समिति सचिव हुँदै फिदिम नगरपालिकाको कार्यालयमा समेत सेवा गर्नुभएको थियो।

उहाँका सुपुत्र तथा बिर्तामोड स्थित आफ्नै प्रिन्टिङ हाउस (विद्यार्थी तथा शिक्षकका लागि ट्र्याकसुट निर्माण तथा बिक्री गर्दै आएको संस्था) सञ्चालन गर्दै आउनुभएका समाजसेवी तथा सहयोगी लोकेश न्यौपानेले आफ्ना स्वर्गीय पिताको पुण्य स्मृतिमा विद्यालयका नयाँ भर्ना भएका २० जना विद्यार्थीलाई निःशुल्क ट्र्याकसुट उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक प्रेम नेपालले जानकारी दिनुभयाे ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय परिवारले न्यौपानेको यस परोपकारी तथा प्रेरणादायी सहयोगको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ। विद्यालयले यस्ता सामाजिक उत्तरदायित्वका कार्यले विद्यार्थीलाई थप उत्साहित बनाउनुका साथै समाजमा सहयोग र सद्भावको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्