अवैध काठ बोकेका दुई वटा ट्रक नियन्त्रण

पाँचथर ::अवैध रूपमा काठका गोलिया ओसारपसार गरिरहेका दुई वटा ट्रक प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार बजारबाट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्र. १–०२–००२ ख ०७८८ नम्बर र प्र. १–०२–००२ ख ०००३ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो ।

दुवै ट्रकमा करिब पाँच–पाँच सय क्युफिट गरी एक हजार क्युफिट काठका गोलिया लोड गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभएको छ ।

कर्णका अनुसार जाँचका क्रममा ट्रकमा लोड गरिएको काठको गोलिया निकासीका लागि आवश्यक इजाजतपत्र नभएको पाइएपछि दुवै ट्रक नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका ट्रक र काठ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सव–डिभिजन वन कार्यालय रवि, पाँचथरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्