पाँचथरका ५३९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन

पाँचथर जिल्लाका ५३९ जना बालबालिकालाई पहिलोपटक स्वर्णबिन्दु प्राशन गराइएको छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार सुनको भस्मलाई घिउ र महमा घोलेर तयार पारिएको मिश्रणलाई स्वर्णबिन्दु भनिन्छ। यसको प्राशन गराउँदा बालबालिकाको सामाजिक, मानसिक, शारीरिक तथा बौद्धिक विकासमा प्रभावकारी हुने चिकित्सकहरू बताउँछन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पाँचथरले सोमबार बिहान ७ देखि साँझ ५ बजेसम्म एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको हो। अब यो अभियान प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गरिने केन्द्रले जनाएको छ।

स्वर्णबिन्दु प्राशन गराउन बिहानैदेखि अभिभावक आफ्ना बालबालिकालाई लिएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगेका थिए।

जिल्लामा पहिलोपटक कम्तीमा एक हजार बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने कार्यक्रम तय गरिए पनि सोमबार ५३९ जना बालबालिकालाई प्राशन गराउन सफल भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. दिलीपकुमार यादवले बताउनुभयो।

स्वर्णबिन्दु प्राशन कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको उपस्थितिमा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्