पाँचथरमा खोरेतविरूद्धको खोप अभियान तीव्र

पाँचथरमा खोरेत रोग नियन्त्रणका लागि पशु चौपायालाई खोप लगाउने अभियान तीव्र पारिएको छ ।

असोज ७ गतेदेखि जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सुरु गरिएको अभियान अन्तर्गत असोज १९ गतेसम्म १६ हजार २४१ पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार सबैभन्दा बढी फिदिम नगरपालिकामा चार हजार ७५२ पशु चौपायालाई खोप लगाइएको छ ।

तुम्बेवामा तीन हजार ६३१, मिक्लाजुङमा दुई हजार ९३३, हिलिहाङमा एक हजार ६२५, याङवरकमा एक हजार ५६२, फाल्गुनन्दमा एक हजार नौ, कुम्मायकमा ४०७ र फालेलुङमा ३२२ पशु चौपायालाई खोप लगाइएको सूचना अधिकारी निरोजकुमार भट्टराईले जानकारी दिनुभयो ।  

चालु आर्थिक वर्षमा जिल्लाभर एक लाख २७ हजार २३० पशु चौपायालाई खोरेत, पिपिआर र स्वाइन फिभरविरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा १५ हजार २३० गाई, गोरु तथा भैँसीलाई खोरेतविरुद्ध खोप लगाउने कार्यक्रम रहेको केन्द्रका निमित्त प्रमुख निरोजकुमार भट्टराईले जानकारी दिनुभयो । त्यसपछि एक लाख तीन हजार बाख्रा तथा भेडालाई पिपिआर र २० हजार सुँगुर तथा बङ्गुरलाई स्वाइन फिभरविरुद्ध खोप लगाइनेछ ।

खोपकर्ताले पशुपालकका घर तथा गोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाएपछि पशुको विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुका साथै पशुधनीलाई खोप कार्ड उपलब्ध गराउने गरिएको छ । अभियानका लागि जिल्लाभर ८४ जना खोपकर्ता परिचालन गरिएको छ ।

पशु चौपायालाई महामारीजन्य रोगबाट सुरक्षित राख्दै स्वच्छ दुध तथा मासु उत्पादन बढाउने उद्देश्यले सञ्चालन गरिएको अभियानको जिल्ला खोप समन्वय समिति, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहले संयुक्त रूपमा अनुगमन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्