ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–१२, नागीनस्थित मिलनचोकमा सोमबार ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।
मे १ त ५९३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा हिलिहाङ गाउपालिका–१, अमरपुरका १८ वर्षीय सहचालक पवन मोतेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार ट्रयाक्टर अनियन्त्रित भएपछि मोते सिटबाट झरेर इन्जिनको बायाँपट्टिको ठूलो चक्कामा पर्नुभएको थियो । चक्काले किचिएपछि उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रयाक्टर चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रयाक्टर फेमे खोलाबाट बालुवा लिएर भोटेगाउँतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



