चिया बगानमा कमाउँदै, बगानमै रमाउँदै महिला श्रमिक
पाँचथर::बिहान ७ बज्दै थियो। पाथिभरा टी–स्टेटको आवास क्षेत्रमा चहलपहल सुरु भयो। टी–स्टेटको क्वार्टरमा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए। चिया–नास्तापछि यहाँका १० जना महिला डोको बोकेर बगानतिर लागे।
करिब १५ मिनेट हिँडेपछि त्यो समूह लहलह पालुवा पलाएको चियाबारीमा पुग्यो। पानी परेपछि खुलेको मौसम, चिसो बतास र चारैतिर हरियाली। त्यहीँ चिया टिप्न थालेका महिला कहिले गीत गाउँथे, कहिले अन्ताक्षरी खेल्थे त कहिले मीठा गफ गर्दै चियाका मुना टिपेर डोको भर्ने प्रयत्नमा देखिन्थे।
करिब चार घण्टा चियाका मुना टिपेर उनीहरू मध्याह्नतिर कारखाना फर्किन्छन्। आफूले टिपेको हरियो पत्ती तौलिन्छन्। तौलिएको परिणाम खातामा चढ्छ। त्यही क्षण उनीहरूले बिहानभर गरेको श्रमको मूल्य कति भयो भन्ने थाहा पाउँछन्।
“कति काम गरेँ, कति कमाएँ भन्ने कुरा थाहा पाउन महिनाको अन्तिम दिन कुर्नुपर्दैन,” १२ वर्षदेखि बगानमा काम गर्दै आउनुभएकी शशिकला राईले भन्नुभयो, “पत्ती तौलिनासाथ आफ्नो कमाइ कति भयो थाहा हुन्छ।”
खाना खाएपछि उनीहरू फेरि बगान पस्छन्। दिउँसोको घामसँगै चियाका मुना टिप्ने क्रम चलिरहन्छ। साँझ डोकोभरि पत्ती बोकेर फर्किन्छन् र फेरि पत्ती तौलिन्छन्। दिनभरको कमाइको हिसाब त्यहीँ निस्कन्छ।
महिनाको अन्त्यमा भने दिनदिनैको श्रम एकमुष्ट भएर हात लाग्छ। महिनाभर गरेको श्रमको मूल्य हात पर्दा त्योभन्दा खुसी हुने क्षण अरू के होला र ? शशिकलाले थप्नुभयो।
पाँचथरको याङवरक–३ मा कारखाना रहेको पाथिभरा टी–स्टेटमा चिया टिप्ने श्रमिकमा महिलाको सङ्ख्या उल्लेख्य छ। उनीहरूको दैनिकी उस्तै छ—बिहान बगान छिर्ने, मध्याह्न कारखाना फर्किने, चिया तौलिने, पुनः खाना खाएर बगान जाने, साँझ फर्किने अनि चिया केलाउने र सर्टिङ गर्ने काममा खटिएर अतिरिक्त आम्दानी गर्ने।
चिया टिप्नु मात्रै उनीहरूको आम्दानीको स्रोत होइन। साँझ सर्टिङ, चिया केलाउने, प्रशोधन र प्याकेजिङलगायतका काम गर्दा अतिरिक्त पारिश्रमिक पाइन्छ। चिया टिपाइ र अन्य कामसमेत जोड्दा एक जना श्रमिकले महिनामा ४० देखि ४५ हजार रुपियाँसम्म कमाउने गरेको शशिकला बताउनुहुन्छ।
“काम गर्दा थकाइ त लाग्छ तर आफ्नै हातले गरेको कामको पैसा आफैँ पाउँदा थकाइ बिर्सिन्छ,” अर्की श्रमिक भद्रिका राईले भन्नुभयो।
बगानमा काम गर्दा कमाइ मात्र होइन, बसाइ पनि सहज छ। कम्पनीले श्रमिकलाई आवासीय सुविधा दिएको छ। चिसो मौसम, स्वच्छ हावा र चारैतिरको हरियालीले पनि उनीहरूको दैनिकी सहज बनाएको छ।
“यहाँको हावापानी नै फरक छ। सहरको जस्तो धुलो, धुवाँ र कोलाहल छैन। स्थानीयस्तरमै उत्पादन भएका अर्गानिक तरकारी र खानेकुरा खान पाइन्छ। स्वास्थ्यका लागि पनि राम्रो छ,” भद्रिकाले भन्नुभयो।
आफ्नै गाउँठाउँमा रोजगारी पाएपछि परिवारसँगै बस्न पाउनु उनीहरूका लागि अर्को ठुलो खुसी हो। बगानको लेखा शाखामा काम गर्ने रञ्जना लिम्बू पनि घरपायकमै पाएको रोजगारीबाट सन्तुष्ट हुनुहुन्छ।
“परिवारसँगै बसेर काम गर्ने अवसर पाएकी छु, सन्तुष्ट छु,” उहाँले भन्नुभयो।
बगानमा खाना पकाउने कामदेखि चिया प्रशोधनका विभिन्न चरणसम्म महिलाको सहभागिता उल्लेख्य रहेको पाथिभरा टी–स्टेटकी सञ्चालक प्रमिला अधिकारीले बताउनुभयो। चिया बगानमा मुना टिप्नेदेखि सर्टिङ गर्नेसम्म महिला श्रमिककै सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ। अझै ३० भन्दा बढी महिलालाई रोजगारी दिन आफूहरू तत्पर रहेको उहाँले बताउनुभयो।
तर विडम्बना के छ भने रोजगारीको यस्तो अवसर हुँदाहुँदै पनि बगानमा कामदारको अभाव छ।
याङवरक र फालेलुङ गाउँपालिकामा फैलिएको पाथिभरा टी–स्टेट करिब एक हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल ६०० रोपनीमा चिया खेती गरिएको छ। चैतदेखि मङ्सिरसम्म चिया टिपाइ हुन्छ। यही समयमा मुना टिप्ने, गोडमेल, छाँटाइ र प्रशोधनको काम तीव्र हुन्छ।
मुख्य सिजनमा दैनिक ४० देखि ५० जना श्रमिक आवश्यक पर्ने भए पनि अहिले नियमित र आंशिक गरी १८ जना हाराहारी मात्रै कार्यरत छन्। थप कम्तीमा ३० जना कामदार आवश्यक पर्ने सञ्चालक राजन भट्टराई बताउनुहुन्छ।
“अहिले चियाको सबैभन्दा व्यस्त समय हो। उत्पादन बढाउन सकिने अवस्था छ तर जनशक्ति अभाव छ,” उहाँले भन्नुभयो।
याङवरक–३, चारभञ्ज्याङमा मुख्य कार्यालय रहेको पाथिभरा टी–स्टेटमा उत्पादन भएको चियापत्ती आफ्नै कारखानामा प्रशोधन गरी अर्थोडक्स चिया बनाइन्छ। रासायनिक मल र विषादी प्रयोग नगरी जैविक प्रविधिबाट उत्पादन हुने भएकाले यहाँको चियाले अन्तर्राष्ट्रिय बजारमा समेत छुट्टै पहिचान बनाएको छ।
प्राकृतिक मिठास, उच्च पहाडी सुगन्ध र विशिष्ट स्वाद पाथिभराको चियाका विशेषता हुन्। टिमुरको स्वाद मिसाइएको चियासहित १० भन्दा बढी स्वादका चिया यहाँ उत्पादन हुन्छन्। टिमुर फ्लेभरको चियाको माग पछिल्लो समय उल्लेख्य रूपमा बढेको भट्टराई बताउनुहुन्छ।
चिया टिप्ने श्रमिकले प्रतिकिलो ११० रुपैयाँ पाउँछन्। यसबाहेक सर्टिङ, प्रशोधन र प्याकेजिङमा अतिरिक्त पारिश्रमिक हुन्छ। बगानले यस वर्ष १६ हजार किलोग्रामसम्म चिया उत्पादन गर्ने क्षमता विस्तार गरेको छ।
चिया खेती अरू बालीजस्तो हरेक वर्ष रोपिरहनुपर्ने खेती होइन। एकपटक बिरुवा रोपेपछि वर्षौँसम्म उत्पादन लिन सकिन्छ। तर करिब नौ महिना गोडमेल, छाँटाइ, मल व्यवस्थापन र मुना टिपाइमा निरन्तर श्रम चाहिन्छ। हिउँदका करिब तीन महिनामा मुना नआउने भएकाले टिपाइ रोकिन्छ।
विदेशमा रोजगारी खोज्दै घर छाड्ने युवाहरूलाई यहाँ कार्यरत श्रमिकको आग्रह छ—“काम खोज्न धेरै टाढा जानैपर्छ भन्ने छैन, आफ्नै गाउँमा पनि मेहनतको मूल्य पाइन्छ।”



