हारगुहार बाट श्रमदानसम्म, उस्तै छ पाँचथरको संस्कार


पाँचथर::कुटो, कोदालो, गैंती र सब्बल बोकेर गाउँलेहरू एकै ठाउँ भेला हुन्थे। बाटो खन्न होस् वा खोलामा फड्के बनाउन, कसैलाई बोलाउन मोबाइल अहिलेको जस्तो मोबाइल फोन थिएन । जिम्मावाल, थरी र सुब्बाले घरघर खबर पठाएपछि गाउँले ‘हारगुहार’मा जुट्थे। झन्डै शताब्दीअघिको त्यो चलन पाँचथरमा अहिले पनि उस्तै छ( शब्द फेरिएको छ, औजार फेरिएका छन्, तर विपद्मा एकजुट भएर सार्वजनिक संरचना बनाउने संस्कार उस्तै छ।
फिदिम नगरपालिका–१ का ९६ वर्षीय गंगाराम भट्टराईलाई त्यो समय अहिले पनि सम्झना छ। जतिबेला मानिस बोलाउन न मोबाइल, टेलिफोन थियो न सञ्चारका अरू सहज माध्यम। जिम्मावाल, थरी र सुब्बाहरूले घरघर मान्छे खटाएर एकजुट हुन खबर गर्थे। तोकिएको दिन मानिसहरू कुटो, कोदालो, गैंती र सब्बल बोकेर विकासका काममा जुट्थे। त्यो बेला यसरी सामूहिक रूपमा गरिने श्रमलाई ‘श्रमदान’ भनिँदैनथ्यो। गाउँमा प्रचलित शब्द थियो( ‘हारगुहार’। ‘गाउँमा सार्वजनिक काम पर्‍यो भने हारगुहार चल्थ्यो,’ भट्टराई सम्झिन्छन्, ‘हारगुहारको नेतृत्व पनि तिनै जिम्मावाल, थरी र सुब्बाहरू नै गर्थे। गाउँलेका हातमा औजार हुन्थे। कसैले कुटो बोक्थे, कसैले कोदालो। कसैले गैंती त कसैले सब्बल।’
बाटो खन्नुपरे सबै जुट्थे। खोलामा बाटो चाहियो, त्यहाँ पनि जुट्थे। ठूलो खहरे तर्नुपर्‍यो भने काठ र बाँस बिछ्याएर साँघु बनाउँथे। यस्ता साँघुलाई फड्के भनिन्थ्यो। ‘ठूला खोला र खहरेमा काठ, बाँस बिछ्याएर फड्के बनाइन्थ्यो,’ भट्टराई भन्छन्, ‘मान्छे हिँड्न मिल्ने बाटो बनाउन होस् वा सार्वजनिक संरचना बनाउन, गाउँले मिलेर काम गर्थे।’

 भट्टराइका अनुसार त्यतिबेला गाउँघरमा मान्छेका अभाव थिएन । विदेश जाने चलन थिएन । काम गर्न गइहाले भारत जाने चलन थियो । घरैपिच्छे लाठे हुन्थे प्रत्येक घरबाट एकजनाका दरले पुरुष सहभागि हुन्थे । खाजा बनाउन र बाँड्न मात्रै महिला खट्थे ।  कुनै घरका मान्छे हार गुहारमा जान नभ्याए सट्टामा अर्कोजना पठाउने चलन थियो ।
सार्वजनिक काम गर्न अथवा कृषि कर्ममा पनि घरेलु औजार प्रयोग हुन्थे । ती सामग्री गाँउघरमै रहेका व्यवसायीले आरनमा बनाउथे ।

 त्यतिबेला गाउँको जीवन सामूहिक श्रममै अडिएको थियो। झोलुङ्गे पुल निर्माण गर्दा लठ्ठा बोक्नेदेखि पुलका सामग्री ओसार्नेसम्म गाउँले आफैं गर्थे। विसं १९९० र २०४५ सालका भूकम्पले भत्काएका विद्यालयका भवन पुनर्निर्माण गर्न पनि मानिसहरू श्रममा जुटे। दसैं–तिहारअघि गोरेटो र घोडेटो सफा गर्ने, बिग्रेका बाटा मर्मत गर्ने, पाटी–पौवा र धारा–पँधेरा मर्मत गर्ने काम पनि सामूहिक श्रमबाटै हुन्थ्यो।
अहिलेको मेची राजमार्ग निर्माणमा पनि त्यही सामूहिक श्रमको कथा जोडिएको छ। झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्ड निर्माणमा स्थानीय नागरिकले श्रम गरेका थिए। भट्टराईका अनुसार त्यतिबेला जिल्लाका गाउँ पञ्चायतलाई सडक निर्माणका लागि विभिन्न ‘ब्लक’ छुट्याइएको थियो। आ–आफ्नो क्षेत्रमा गाउँलेले काम गरेर सडकको डोरो निकाले। ‘त्यो बेला गाउँ पञ्चायतका मानिसलाई ब्लक–ब्लक छुट्याएर बाटो बनाउन लगाइन्थ्यो,’ भट्टराई सम्झिन्छन्।
ुहारगुहारुको माध्यमबाट त्यतिबेला श्रमदान मात्रै थिएन खोला वारिपारिका गाउँसँगै मानिसका भावना जोड्ने माध्यम पनि थियो। बाटो बनेपछि त्यसको सुविधा सबैले उपभोग गर्थे। एउटा फड्के बनेपछि वारिपारि गर्ने सबैलाई सहज हुन्थ्यो। त्यसैले श्रममा सहभागी हुनु आफ्नो जिम्मेवारी ठानिन्थ्यो।
समय फेरिँदै गयो। गाउँमा सडक पुग्न थाले। सडक खन्ने काममा मेसिन आउन थाले। बाटो बनाउन घण्टौं कुटो–कोदालो चलाउनुपर्ने अवस्था घट्दै गयो। मान्छेको ठाउँ बिस्तारै मेसिनले लिन थाल्यो। सडक पुगेपछि पुराना गोरेटो र घोडेटोहरू ओझेलमा परे। कतिपय पुराना बाटाघाटा प्रयोगविहीन बने। मान्छेले सरसफाइ गर्न भुल्दै गए। झोलुङ्गे पुलहरू पनि बेवास्तामा परे। सामूहिक श्रमको त्यो पुरानो अभ्यास पनि विस्तारै कमजोर हुँदै गयो। तर पाँचथरमा त्यो संस्कार हराएन।
बाढी, पहिरो र अन्य विपद्ले स्थानीयलाई फेरि एक ठाउँमा उभ्याउन थाले। विपद् आएपछि सरकारी निकायको प्रतीक्षा गरेर बस्नुभन्दा स्थानीयवासी आफैं जुट्न थाले। आजकल पुनः श्रमको त्यही संस्कार दोहोरिएको छ। कसैले कुटो समाउँछन्, कसैले गैंती त कसैले सब्बल। कसैले ढुंगा बोक्छन्, कसैले माटो सोहोर्छन्। कसैले जाली बुन्छन् अनि कोही ग्याबिन बाल लगाउँछन्। पाँचथरका विभिन्न ठाउँमा पछिल्लो समय देखिएका दृश्य त्यही पुरानो ‘हारगुहार’को नयाँ रूप भएको भट्टराई सुनाउँछन्।
गत जेठ ८ को बाढीले मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको याङवरक–२ स्थित दोभाने खोलाको डाइभर्सन बगायो। यातायात ठप्प भयो। सडक अवरुद्ध भएपछि स्थानीय नागरिक फेरि जुटे। निर्माण समितिसमेत बनाएर उनीहरूले काठ प्रयोग गरी मोटरेबल पुल निर्माण गरे। वडा १ का सदस्य नरबहादुर गुरुङको अगुवाइमा तेजेन्द्र राई संयोजक रहेको निर्माण समिति बन्यो। स्थानीयले श्रमदान गरे। त्यही श्रमको बलमा भदौ २ देखि यातायात सुचारु भएको छ।
यो ठाउँमा स्थानीयले पहिलोपटक श्रमदान गरेको होइन। २०८० सालको बाढीले यहाँको पक्की पुल बगाएको थियो। त्यसपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यसपटकको बाढीले त्यही डाइभर्सन पनि बगाएपछि आवागमन पूर्णरूपमा ठप्प भएको थियो। त्यसअघि पनि स्थानीयले पटक–पटक श्रमदान गरेर डाइभर्सन र बाटो बनाउँदै आएका छन्। यहाँका बाटाघाटा सडक विभाग वा ठेकेदारको भरमा मात्रै चलेका छैनन्। बाटो बन्द हुँदा गाउँले आफैं अघि बढ्छन्।


वडा सदस्य गुरुङका अनुसार पछिल्लो पटक मोटरएवल काठेपुल बनाउन पाँच दिन लाग्यो । जहाँ याङवरक १ र २ का २ सय ५० नागरिक सहभागी भए । आवस्यक पर्ने काठपात आफैंले जुटाए । बाटो खुल्ने भएपछि केहि नागरिकले आर्थिक सहयोग गरे । सङकलित रकम ग्याविन जाली बुन्ने ज्यामी र स्कावेटरमा तेल हाल्न  खर्च गरिएको छ ।
उनका अनुसार गाँउका प्रायः घरबाट युवाहरु वैदेशिक रोजगारीमा गएका छन । जे जति गाउँमा वस्छन उनीहरु सामाजिक अभियानमा निस्वार्थ जुट्छन । 
यहाँ जुटेको जनशक्तिले मध्यपहाडी राजमार्गमै पर्ने फलामखोलामा ह्युम पाइप राखेर यातायात र सवारी साधन आवागमनलाई सहज बनाउन काम थालेको छ । यस्तै मेवा खोलाबाट चाम्लिङडाँडा,विरुवा र पेरुङ्गे जस्ता बस्ती जोड्ने सडक पनि ३ महिनायता अवरुद्ध भएकाले श्रमदानबाटै बाटो खोल्ने सहमति जुटेको छ ।
यस्तै दृश्य यो साता फिदिम–सामदिन–चोकमागु हुँदै शिवा, लुम्फावुङ र नवमीडाँडा जोड्ने फिदिम–सामदिन–मायालुमोड सडकखण्डमा पर्ने शिवाखोलामा पनि देखियो। गत साउन २५ मा बाढीले कल्भर्ट बगाएपछि सडक बन्द भयो। बाटो खुलाउन फिदिम नगरपालिका–६ का वडाध्यक्ष विपन तुम्रोक र फाल्गुनन्द गाउँपालिका–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्वेसहित दुवै पालिकाका सयौं नागरिक जुटे। कसैले माटो सोहोरे, कसैले ढुंगा बोके, कसैले ग्याबिन पर्खाल निर्माण गरे। त्यहाँ जनप्रतिनिधि र सर्वसाधारणबीच कामको कुनै ठूलो विभाजन देखिएन। सबैको हातमा काम थियो। सबैको उद्देश्य एउटै थियो—बन्द भएको बाटो खोल्ने।  सहभागिता के कसरी भयो ररररर।।।
फिदिम ६ का वडाध्यक्ष तुम्रोकका अनुसार साँझ बाढीले खोलाको कल्भर्ट बगाएपछि सयौं सवारी र ढुवानी साधन वारिको वारि र पारिको पारि नै रोकिए । चालकहरु बाटोमै बस्नु पर्ने अवस्था आइलाग्यो, फिदिमबाट शिवा,लुम्फावुङ र नवमीडाँडा क्षेत्रमा खाद्यान्न र उपभोग्य वस्तु ढुवानी ठप्प प्रायःभयो । तत्काल सडक नखोले जन आक्रोश पनि बढ्ने सामान ढुवानीसँगै विरामीलाई उपचार गर्न सदरमुकाम ल्याउन सम्मका काम ठप्प हुने देखियो ।समस्या लम्बिदा समाधान पनि कठिन हुन्छ भन्ठानेर आफ्नै सामाजिक सञ्जाल फेसवुकबाट आह्वान गरेको पनि उनले सुनाए ।
आह्वान गरेको भोलिपल्ट विहानैदेखि नागरिकहरु घरेलु औजार सहित सिवा खोलामा श्रम गर्न भेला भएका थिए । एकसय जनाले १२ घण्टा निरन्तर श्रम गर्दा बाटो खुल्यो । बाटो खोल्न श्रमदानमा आएका नागरिकहरुलाई सोहि क्षेत्रका यातायात व्यवसायी,सवारी चालक र गाँउका केहि अग्रज समाजसेवीले नास्ताको प्रवन्ध गरेका थिए । यहाँ श्रम गर्न किशोरावस्थादेखि प्रौढ हुँदै ७० वर्ष उमेर सम्मका नागरिक सहभागि भएका थिए । श्रममा सहभागी मध्ये झण्डै एक चौथाइ महिला सहभागिता थियो ।
फालेलुङमा त सामूहिक श्रम अभियानका थुप्रै कथा छन्। २०८० असार २ को बाढीले घुमाउनेटारको मोटरेबल पुल बगायो। त्यसपछि फालेलुङका बासिन्दाले दुई महिनासम्म श्रम गरेर सडक खुलाए। त्यसमा फालेलुङका मात्र होइन, छिमेकी फिदिम र हिलिहाङका बासिन्दासमेत सहभागी भए। उनीहरूले श्रम मात्रै गरेनन्, आर्थिक सहयोग पनि जुटाए। संकलित रकम गाउँपालिकाको विपद् कोषमा जम्मा गरे। विपद्ले क्षति पुर्‍याएको ठाउँमा शारीरिक श्रमसँगै आर्थिक सहयोग जुटाएर ऐक्यबद्धता जनाए। यही मेहनतले बनेको बलियो कल्भर्टले तीन वर्षसम्म यातायात र ढुवानीका साधनको भार थेगिरहेको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ बताउँछन्।
फालेलुङ–४ को खेवाथाम खोलाबाट मेमेङ–वरडाँडा जोड्ने सडकमा एक साताअघि पहिरो गयो। सडक अवरुद्ध भएपछि वडा कार्यालयले आह्वान गर्‍यो। दैनिक सयभन्दा धेरै बासिन्दा जम्मा भएर बाटो खुलाए। 

फालेलुङ ४ का वडाध्यक्ष सन्तकुमार राईका अनुसार बाटो बन्द भएपछि सामाजिक सञ्जाल,सञ्चार माध्यम,टोल विकासका सस्था,  र वडा कार्यालयमा सेवा लिन आएका सेवाग्राहि मार्फत प्रत्येक टोल र घर घर सम्मबाट सहभागि हुन आह्वान गरिएको थियो । वडाको आह्वानमा दैनिक सयका दरले भेला भएका नागरिकले चारदिनसम्म श्रम गरेर बाटो खुलाएका हुन । यहाँ श्रम गर्नेहरुको समूहमा पनि झण्डै २० प्रतिसत बढि महिला सहभागिता थियो ।

एक महिनाअघि फालेलुङ–७ को थोकपन आधारभूत विद्यालय जाने बाटो पहिरोका कारण बन्द हुँदा पनि स्थानीय त्यसैगरी जुटे। दिनभर श्रमदान गरेर विद्यालय जाने बाटो खुलाए। हेर्दा यी काम सामान्य जस्तै लागे पनि तिनको सन्देश गहिरो छ( विपद्का बेला पाँचथरका बासिन्दा अझै पनि एकअर्काको साथमा उभिन्छन्।
विपद् आयो भने गाउँलेहरु जुटेर क्षतिग्रस्त संरचनाको मर्मतसम्भार आफैं गर्छन्। कहीँ पुल बनाउँछन्, कहीँ बाटो त कहीँ फड्के। पछिल्लो समय सार्वजनिक कामका लागि भेला गर्न सामाजिक सञ्जाल खबर गर्ने माध्यम बनेका छन्। विपद् आयो र सामूहिक श्रम गर्न परे तिनै माध्यमबाट सर्वसाधारणलाई आह्वान गरिन्छ।
पछिल्लो समय टीसर्ट लगाएका श्रमदाताका तस्बिर र भिडियो सामाजिक सञ्जालमा पनि देखिन थालेका छन्। अगुवाहरू यसलाई पाँचथरमा वर्षौंदेखि चलिआएको श्रम संस्कारको निरन्तरता भएको बताउँछन् । उनीहरूका अनुसार श्रमदान कुनै दल, समूह वा व्यक्तिको हिसाबले विभेद नगरी विपद्का बेला सबैको साझा जिम्मेवारीका रुपमा लिने गरिएको छ । ‘श्रमदान स्वतःस्फुर्त, निःस्वार्थ र दलरहित हुनुपर्छ,’ –श्रम अभियानमा सहभागी मध्येका जेवि चाम्लिङले भने ।
त्यसैले विपद् आउँदा पाँचथरवासी आफ्नो राजनीतिक पहिचान, व्यक्तिगत स्वार्थ र समूहगत विभाजनभन्दा माथि उठेर काममा जुट्ने गरेका छन्। यसै साता फिदिम–६ शिवाखोलामा अवरुद्ध सडक खुलाउन श्रम गरिरहेका फिदिम–७ का सूर्यकुमार तुम्रोकले श्रमदानलाई नागरिकको आफ्नै जिम्मेवारीका रूपमा जोडेर हेर्नुपर्ने बताए। ‘आफ्नै घरअगाडिको बाटोघाटो बनाउन सरकार गुहार्न पनि सकिन्थ्यो, पछिल्लो समय सरकारको मुख ताकेर आफू रमिता हेर्ने चलन बढिरहेको छ, यो गलत हो,’ उनले भने।
उनका अनुसार सरकार गुहार्दा काम हुन समय लाग्छ। त्यसका लागि राज्यकोषको रकम पनि खर्च हुन्छ। त्यसैले सम्भव भएसम्म नागरिक आफैंले श्रम गरेर सार्वजनिक संरचना बनाउन र बिग्रेको बाटो खुलाउन अघि सर्नुपर्ने उनको तर्क छ। ‘सरकार गुहार्न थाले समय पनि लाग्छ, राज्यकोषको सम्पत्ति पनि खर्च हुन्छ,’ तुम्रोक भन्छन्।
फिदिम–६ का निवर्तमान वडाध्यक्ष जहरमान तुम्रोक पनि सूर्यकुमारको तर्कसँग सहमत छन्। उनका लागि श्रमदान भनेको सरकारको विकल्प होइन, सरकारसँगै स्थानीयको जिम्मेवारी जोडिने अभ्यास हो। 
जिल्ला दररेट अनुसार रोजगारी गर्दा दक्ष श्रमिकले दैनिक १ हजार २ सय ,अदक्षले एक हजार र अर्ध दक्षले ८ सय रुपैंया पारिश्रमिक पाँउछन । तर यसरी श्रममा जुटेका जनशक्तिले पारिश्रमिकको अपेक्षा गर्दैनन । 
बरु श्रममा सहभागितासँगै आफ्ना साथ भएका औजार उपकरण हुँदै खाजा सामल सम्म जुटाउने अभियान चलाँउछन ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सार्वजनिक महत्वका काममा स्थानीय एकजुट हुँदा स्थानीय सरकारलाई बलियो साथ मिलेको अनुभूति भएको अनुभव सुनाउँछन्। स्थानीय आफैं जुटेर सार्वजनिक संरचना बनाउने, मर्मत गर्ने र विपद्का बेला अवरुद्ध बाटो खोल्ने संस्कारले सरकार र नागरिकबीचको सम्बन्धलाई पनि बलियो बनाएको उनको बुझाइ छ।
लगभग एक शताब्दी जीवन भोगेका गंगाराम भट्टराईको मस्तिष्कमा त्यो पुरानो समयको चित्र अझै ताजा छ। ुगाउँलेहरू एकै ठाउँ भेला हुन्थे। कसैले धेरै, कसैले थोरै काम गर्थे। तर सबैले श्रम गर्थे, सार्वजनिक स्थलमा पसिना बगाउँथे,ु उनी भन्छन्, ुबल–बैँस छँदा खुब काम गरियो, आजकल बुढ्यौलीले हिँडडुल गर्न सक्दिनँ। आज बाढीले बाटो बगाउँदा, पहिरोले सडक छेक्दा वा पुल भत्काउँदा पाँचथरका गाउँमा हारगुहार भइरहेको खबर रेडियो, टेलिभिजन र मोबाइलबाटै देख्दा खुसी लाग्छ। श्रमदान हाम्रो संस्कार र परम्परा हो, यसलाई निरन्तरता दिनुपर्छ।’
 

प्रतिकृया दिनुहोस्