हिलिहाङमा डेङ्गी नियन्त्रणको लागि लार्भा नष्ट अभियान
पाँचथर:: डेङ्गी तथा अन्य किटजन्य रोगको रोकथाम र नियन्त्रणका लागि हिलिहाङ गाउँपालिकामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट अभियान सञ्चालन गरिएको छ ।
डेङ्गी सचेतना महिना अभियान अन्तर्गत शुक्रबार हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गोपेटार बजार क्षेत्रमा बहुक्षेत्रीय समन्वय, सामुदायिक परिचालन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमकामा लामखुट्टे बस्न र प्रजनन गर्न सक्ने सम्भावित स्थानको खोजी गर्नुका साथै लार्भा भेटिएका स्थानमा नष्ट गर्ने तथा स्थानीयलाई डेङ्गी रोगबाट बच्ने उपायबारे जानकारी गराइएको हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
अभियानमा गोपेटारस्थित सिरिजङ्गा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी,जनप्रतिनिधि, प्रहरी चौकी गोपेटार, बजार व्यवस्थापन समिति, प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार र हिलिहाङ गाउँपालिका–३ नम्बर वडा कार्यालय र स्थानीय सहभागी थिए ।
स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार गत वर्षसम्म हिलिहाङमा वर्षेनी डेङ्गी र कालाजार संक्रमण देखिँदै आएको थियो ।
यो वर्ष भने ती समस्या दोहोरिएका छैनन । यद्दपी पुर्व सावधानीका लागि लामखुट्टेको वासस्थान पहिचान,लार्भा नष्ट र विषादी छिट्ने काम गरिएको हो ।



