हिलिहाङमा अपाङ्गता भएका ३० जना नागरिकलाई सहायक सामग्री वितरण


पाँचथरको हिलिहाङ गाउँपालिकाले अपाङ्गता भएका ३० जना नागरिकलाई विभिन्न सहायक सामग्री वितरण गरेको छ ।
पालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम मार्फत यत्तिका नागरिकलाई सामग्री वितरण गरेको हो ।
सोमबार गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीको उपस्थितिमा सेवाग्राहीलाई सहायक सामग्री वितरण गरिएको हो ।
सेवाग्राहीको आवश्यकता र अवस्थाका आधारमा ह्विलचेयर, सेतो लठ्ठी, ट्वाइलेट चियर, ब्याक सपोर्ट बेल्ट, हियरिङ एड र हिँड्ने छडी वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
वितरण गरिएका सामग्रीमा तीन थान ह्विलचेयर, एक थान सेतो लठ्ठी, नौ थान ट्वाइलेट चियर, दुई थान ब्याक सपोर्ट बेल्ट, छ थान हियरिङ एड र १५ थान हिँड्ने छडी रहेका छन् ।
सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले उपलब्ध सहायक सामग्रीबाट अपाङ्गता भएका नागरिकको दैनिक जीवनयापनमा सहजता पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सेवाग्राहीको आवश्यकता पहिचान गरी उपलब्ध गराइएका सामग्रीले आवतजावत तथा दैनिक कामकाजमा सहयोग पुग्ने बताउनुभयो ।
सहायक सामग्री पाएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । सामग्रीबाट दैनिक काम गर्न तथा आवतजावतमा सहज हुने उनीहरूको भनाइ छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार अपाङ्गता भएका नागरिकको आवश्यकता र अवस्थाको पहिचान गरी सहायक सामग्री वितरण गरिएको हो । 


 

प्रतिकृया दिनुहोस्