फालेलुङका आठ घर पहिरोको उच्च जोखिममा

पाँचथरको फालेलुङ गाउँपालिका–२ वरडाँडाका आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोरपोखरी–मेमेङ सडक खण्डमा खसेको पहिरोका कारण ती घर उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।

कार्यालयका अनुसार उक्त स्थानमा साउन ४ गते रातिदेखि पहिरो खस्न थालेको हो। सडकमाथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै आसपासका घर जोखिममा परेका हुन्। निरन्तर वर्षाका कारण पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ। स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो।

पहिरो गएको स्थानभन्दा करिब २० मिटरमाथि रहेका आठ घर जोखिममा परेका हुन्। उच्च जोखिममा रहेका घरधनीमध्ये गजेन्द्र खत्रीका पाँच, यादव खत्रीका तीन, पदमबहादुर खत्रीका छ र कोमलनाथ खत्रीका चार तथा पुरुषोत्तम खत्रीका छ जना परिवारका सदस्य जोखिममा रहेका छन्। पहिरोले घर पुर्ने वा तान्ने जोखिम बढे पनि स्थानीय आफ्नै घरमा बसिरहेको भेटिएकाले स्थानान्तरणका लागि पहल थालिएको प्रजिअ दाहालले बताउनुभयो।

यस्तै फालेलुङ–२ कै दीपक कँडेल/कडेरिया र फालेलुङ–३ का मनकुमार केरुङको घर पनि पहिरोको जोखिममा छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका प्रमुखसहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रजिअ दाहालले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षा भइरहेकाले पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्