हाइड्रोका कारण सिँचाइ अवरुद्ध, पाँचथरका किसान आन्दोलनमा
पाँचथरको फिदिम नगरपालिका–४ तितृबोटे तल्लोटार र थापाटारका करिब ५० घरधुरी किसानले यस वर्ष धान रोप्न पाएका छैनन् । स्थानीय हेँवा खोलाबाट सञ्चालन भइरहेको माउन्टेन हाइड्रोपावर प्रालिका कारण कुलोको मुहान बिग्रिएपछि खेतमा सिँचाइ हुन नसकेको हो ।
विगतमा यस क्षेत्रको करिब २०० रोपनी खेतमा हिउँदे र बर्खे गरी दुई बाली धान तथा अतिरिक्त समयमा मकै, गहुँ, आलु र तोरी उत्पादन हुँदै आएको थियो । “कुलोको मुहान नै बगेपछि खेती गर्ने आधार नै सकियो,” स्थानीय किसान होमबहादुर थापाले भन्नुभयो ।
स्थानीयका अनुसार यी खेतमा एक माना बीउ रोप्दा एक मुरीसम्म अन्न उत्पादन हुन्थ्यो, जसले थापाटार, घैयाटार र लाटीडाँडालगायतका किसानको जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएको थियो । हिउँदमा उत्पादन हुने आलु, गहुँ र तोरी बिक्रीबाट समेत किसानले राम्रो आम्दानी लिने गरेका थिए ।
उर्वर खेतमा अहिले पानी नपुग्दा रोपाइँ हुन सकेको छैन । कतिपय किसानले राखेको धानको बीउ ब्याडमै सुक्न थालेको छ भने रोपाइँका लागि तयार गरिएका खेतमा धाँजा फाटेका छन् ।
स्थानीय किसान भीमबहादुर योक्पाङदेनका अनुसार कुलोको मुहान नजिकै माउन्टेन हाइड्रोपावरको इन्टेक रहेको छ । “वर्षायाममा धमिलो पानीका कारण इन्टेक बालुवाले भरिन्छ । त्यसलाई सफा गर्न हाइड्रोका कर्मचारीले फ्लसिङका लागि पानी खोलिदिन्छन् । त्यही पानीले हाम्रो कुलोको मुहान बगाइदिन्छ,” उहाँले भन्नुभयो ।
“दिनमा तीन–चार पटकसम्म फ्लसिङ गर्दा हेँवा खोलाको बहाव बढ्छ र कुलोको मुहान बगाउँछ । हामीले जति पटक मर्मत गरे पनि फेरि बगिहाल्छ,” अर्का किसान तेजबहादुर थापाले बताउनुभयो ।
किसानका अनुसार कुलोको मुहान खोलाको किनारमा रहेको, त्यहाँ पुग्ने बाटोसमेत नभएको र चट्टानमाथिको साँघुरो कुलो भएकाले मर्मत गर्नसमेत जोखिमपूर्ण छ ।
किसान कृष्ण थापाले माउन्टेन हाइड्रोपावरले कुलो मर्मत गर्ने लिखित सम्झौता गरे पनि तीन वर्षदेखि कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । “पहिले कम्पनीले कुलो मर्मत गथ्र्यो, तीन वर्षदेखि गरेको छैन,” उहाँले भन्नुभयो ।
दिनको डेढ घण्टा मात्र पानी उपलब्ध भए पनि अधिकांश खेतमा धान रोप्न सकिने किसानहरूको भनाइ छ । “ब्याडमै बीउ सुकिसक्यो । कुलो नचले अन्नविहीन हुने अवस्था आयो,” उहाँले थप्नुभयो ।
स्थानीयका अनुसार कुलो मर्मतका लागि गत वर्ष फिदिम नगरपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेको थियो । मुहानदेखि तल चट्टानी पहरामा सिमेन्ट लगाएर पानी जाने बाटो निर्माण गरिए पनि हाइड्रोले नियमित मर्मत नगर्दा किसानले त्यसको लाभ लिन नसकेको बताएका छन् ।
हाइड्रोका कर्मचारी र सञ्चालकलाई पटक–पटक कुलो मर्मतका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै किसान सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय, फिदिम नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा सामूहिक निवेदन दिँदै कुलो मर्मतका लागि पहल गरिदिन आग्रह गरेका छन् । कुलो मर्मतमा हाइड्रो सञ्चालकले चासो नदिए चरणबद्ध आन्दोलन गर्ने किसानले चेतावनी दिएका छन् ।
आन्दोलनरत किसानले तीनवटा माग अघि सारेका छन् । पहिलो, तत्काल कुलो मर्मत गरी सिँचाइको व्यवस्था गर्नुपर्ने, दोस्रो कुलो मर्मत नगर्ने हो भने उत्पादन हुने धान तथा अन्य बालीको मूल्य बराबरको रकम उपलब्ध गराउनुपर्ने र यी दुवै सम्भव नभए सिँचाइ अभावमा बाँझिएका सबै जग्गा खरिद गर्नुपर्ने उनीहरूको माग छ ।
माउन्टेन हाइड्रोपावरका सुपरभाइजर राम थापाले हाइड्रोको फ्लसिङका कारण कुलोको मुहान बिग्रिएको स्वीकार गर्नुभयो । कुलोको मुहान पटक–पटक बग्ने भएकाले मर्मत गर्न कठिनाइ भएको उहाँको भनाइ छ । किसानका मागबारे कम्पनी सञ्चालक समितिमा जानकारी गराई मर्मतका लागि सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले किसानका मागबारे आफू जानकार रहेको र सम्बन्धित पक्षसँग समन्वय गरी समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।



