यात्रामा तामाङ विकास बोर्ड

 

२०१४ सालको सेपटेम्वर महिनामा पश्चिम बङ्गाल राज्य सरकारको अधीनमा दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक पहाड अनि तराई, डुवर्सका तामाङ समुदायका विकास एवम्‌ सांस्कृतिक बोर्ड स्थापित हुन ।

तामाङ विकास बोर्डका अध्यक्षको रूपमा सन्जय मोक्तानज्यू चुनिनएका थिए । तामाङ विकास बोर्ड कार्यालय, कालेबुङमा स्थापित भयाे । यस क्षेत्र भरिका तामाङ समुदायका सर्वाङ्गीण विकास अनि सांस्कृतिक उत्थानको पूर्णकालिक रूपरेखा परिकल्पनाका खाका श्री सन्जय मोक्तानज्यूका निगरानीमा अगावै विस्तृत रूपमा पश्चिम बङ्गाल सरकार समक्ष प्रस्तुत गरिएको थियाे ।

कला सङ्गीत संस्कृति साहित्य र सामाजिक सेवा कार्यहरूप्रति, अगावै ओतप्रोत भइसकेका सञ्जय मोक्तान तामाङ अमुदाय अनि पहाड तराई र डुवर्स भेकका समाजसित चिरपरिचित रहेका छन्।

तामाङ समुदायका धार्मिक, सांस्कृतिक, सामाजीक पक्षहरूबारे सानोदेखी लिएर ठुल्ठुला समस्याहरू उनले प्रत्यक्ष अनि परोक्ष रुपमा झेलिसकेका हुन्छन्। यस भेकका तामाङ समुदायका आङमा न्यानो घाम दिलाउने प्रयासमा उनी एक दशक अघिदेखी लागि परेका छन्।

२०१४ सालको जुलाई महिनामा, मुख्यमंत्री सुश्री ममता व्यानर्जी ज्युसितको भेटघाटले सन्जय मोक्तान ज्युलाई एउटा थप उर्जा, प्रेरणा र  प्रोत्साहन दिलाउन पुग्छ।  यहिबाट शुरु हुन जान्छ : तामाङ विकास बोर्ड अनि एउटा यात्रा ।

भारतवर्ष एक बहुभाषिय, बहुसंस्कृति र बहुपरम्पराका एक विशिष्ट राष्ट्रको रूपमा चिनिन्छ। भारतवर्ष स्वाधिन हुन अगावै यहाँका वासिन्दाहरू आफ्नो मौलिक पहिचान लिएर बाँच्दै आएका हुन्।

देश स्वतन्त्र भएदेखि उसो, संविधानको निर्माण भएदेखि नै भनौ संविधान अन्तर्गत देशका कतिपय प्राचीन जातिहरूलाई, जनजातिको मर्यादा दिएर उनीहरूको भाषा, संस्कृति, परम्परा, संस्कार अनि आफ्नो मौलिक गुणवत्ताहरूलाई सुरक्षा दिन अधिनिययमहरू अनुसार एउटा विशेष ठाँउ दिएर राखिएको छ । अनुसूचित जनजातिको विशेष दर्जा दिएर, संविधानका श्रेणिहरूमा सुरक्षित राखिएका जनजातिहरूको बाक्लो जनसंख्या  छ संवैधानिक मानचित्र भित्र।

यसरि! अनेकौ जनजातिहरू रहेका बहुजातिय वासिन्दाहरूको लहरमा, पश्चिम बंगाल राज्य अधिन दार्जीलिङ पहाड़, तराई, मधेश र डुवर्स क्षेत्रतिर अगावै, भोटिया, नेपाली, शेर्पा, योल्मो जनजातिहरू रहेको परिप्रेक्षमा सन २००२ देखि लिम्बु अनि तामाङ जातलाई पनि जनजातिका मर्यादा दिएर राखिएको छ।

अघिदेखि कै ऐतिहासिक पृष्ठभूमि भित्र बंगालका अन्य अनेपाली जनजातिहरूका लहरमा, नेपाली भाषी जनसंख्याका लिम्बु अनि तामाङ जातलाई पनि पश्चिम बंगाल राज्य र सिक्किम राज्य भित्र जनजातिय सम्मानित वर्गमा भारत सरकारद्वारा समावेश गरिएको हो।

एउटा शोषित, पिडित अनि ओझलमा परेका वर्गलाई जनजातिको मर्यादा प्रदान गरेर वर्गको कुण्ठा, सामाजीक सम्मान, हक हित र अधिकारको प्रसंगमा विशेष ध्यान पुर्‍याउनु, वर्गप्रतिको सहानुभूति र संवेदनालाई भारतका विशिष्टताको एउटा उदाहरण र नमुना, बुद्धिजीविवर्गहरू ठान्दछन्।

जनजातिको मर्यादा पाएपछि वर्गले समाज राज्य र राष्ट्रमा एक उन्न्तशील अनि प्रगतिशील स्थान प्राप्त गर्ने सामाजीक स्थीतिको, कुनै वर्गले पनि उन्मुक्तिको आभाष गर्न सक्छन्।

मुख्यमन्त्रीज्युको  विशेष आग्रहमा राज्यका सचिवहरूसित एक अत्यन्तै आकस्मिक सभा डाकिन्छ।

सचिवहरू लगायत मुख्यमन्त्रीको विशेष पहलमा दार्जिलिङ पहाड, तराई, डुवर्सका तामाङ समुदायमाथि विशेष ध्यान दिलाउन पश्चिम बङ्गाल तामाङ विकास सांस्कृतिक बोर्ड (परिषद) स्थापना गरिने निर्णय लिइन्छ।

पहाड, तराई, डुवर्सका तामाङ समुदायप्रतिको सहानुभूति र संवेदनशीलता वास्तवीक रूपमा विमुख गरिएका दशक दशकका कथा र गाथा हुँदा हुँदै पनि गोर्खा  जातिभित्रका जातिय स्वार्थमा यो जातका व्यक्ति अनि व्यक्तिद्वारा गरिएका समाजको विभिन्न पक्षहरूमा  दिइएको योगदान विशिष्ट रुपमा यादगार बनेर बसेको छ युगको धरातलमा।

तामाङ जातका अङ्गलोमा डम्फु र तामाङ सेलो मात्र तामाङ  जातका जातिय प्रवृतिमा, युद्ध रणकौशलता मात्र तामाङ जातका उत्पतिले गोर्खा जातिका सम्रग संस्कृति, साहित्य, सङ्गीत, नृत्य, लोक परम्परा आदिमा विशिष्ट रुपमा योगदान पुर्‍याउदै आएका स्वयं प्रमाणित भएको सत्य पनि हो।

गोर्खा जातिको निष्ठापूर्वक गरिमा अधीन योगदानका सेवा पुर्‍याउने यी जात जनजातिको मान्यता पाएर पनि विमुख भएको प्रसंगहरू तर्कसंगत अवश्यै छन्।

कृष्णसिङ मोक्तान, डा. महेन्द्र पी लामा, सुभाष घिसिङ, भुतपुर्व विधायक दावा लामा जस योन्जन प्यासी, डी० एस मोक्तान, गोपाल योन्जन, कर्म योन्जन, अरुणा लामा खेलाडी उर्गेन लामा, संगीतज्ञ के डि  लामा, मधुसुद्न लामा, प्रशान्त तामाङ आदि जस्ताका प्रतिभा र कार्यकौशलताले गौरवपुर्ण बनिएको गोर्खा जातिका बलिया सामाजीक स्तम्भलाई थप टेवा पुगेको पहाडको एउटा छुट्टै इतिहास पनि रहेको छ।

यस्ता प्रतिमाशाली अन उन्नतशील कर्मयोगिहरूका जन्मदाता तामाङ समाज भने किनाराकृत गरिएको ठोस सत्यलाई तामाङ युवा सङ्गठनले  उजागर गरेपछि मुख्यमन्त्रीसितको औपचारिक भेटघाटपछि मुख्यमन्त्री अनि उनका सचिव र निर्देशकहरूसितको छलफल पछि 27 June 2014 का शुभदिन, पशिचम बंगाल तामाङ विकास अनि सांस्कृतिक बोर्डको स्थापना गरिएको घोषणा गरिन्छ।

9th September 2014 तामाङ बोर्ड पंजीकृत पनि गरिन्छ। मुलुकको राष्ट्रिय धारा प्रवाहभित्र पश्चिम बङ्गाल राज्य अधिनका भुपरिवेशमा, पछाडिएका होनहार, मेहनती परिश्रमी यी  तामाङ समुदायलाई अघि बढ़न अनि समग्र रूपमा जनसंख्यालाई चिन्हित गराउन, पश्चिम बंगाल राज्यको विकास परिषद स्थापित गर्ने पहल, वास्तविक रूपमा ऐतिहासिक पाइला ठानिन्छ।

सरकारले चाहेमा, जातहरूलाई ससाना रुपमा आफ्नो जातीय बोर्ड मार्फत उन्नतशील बनाउने प्रयासको घोषणाले, तामाङ जातका घरपरिवार अनि सम्पूर्ण समाज, राज्य सरकारको करुणामय दृस्टिकोण प्रति, धन्य बन्न पुग्छन्।  पश्चिम बंगाल सरकारको तामाङ समुदायप्रतिको यस्तो सहानुभूति र संवेदनाले, तामाङ युवा सङ्गठन एकाएक उर्वर बन्न पुग्छ। तामाङ बोर्डको अधिनभित्र समुदायको हित अनि उन्मुक्तिका आधारभुत खाकाहरू तयार पार्न लागिन्छ।

बोर्ड अन्तर्गतका युवाहरू समुदाय भित्रका संरचना, शोध, अनुसन्धान र खोज पछि तन मन धन खर्च गरेर लागिपर्दछन्।

पश्चिम बंगाल सरकार समक्ष, जातको उत्थान, प्रगतिसामाजीक, सांस्कृतिक, शैक्षणिक र आर्थिक विकासजन्य कार्यहरू प्रति घोत्लिन लाग्दछन्। आर्थिकरूपले विपन्न रहेका दुर्गम अनि टाड़ा टाड़ा भेगतिर, बाँच्न बाध्य बनेका तामाङ समुदायका समाजलाई बस्न, खान लाउन, जिविका चलाउन विविध माध्यमहरूका सरकारी सहुलियतहरूका परिकल्पनाहरूका  मानचित्र बन्न थाल्दछ। फर्केर हेर्ने हो भने, आर्थिक रूपमा विपन्न अवस्थामा रहे तापनि तामाङ जाति, समाज, संस्कृति, परम्परा, धार्मिक आस्था, पुजा आजा, लोक संस्कृति आदिका आधारभित्रै बाँच्न मनपराउने समुदायका रूपमा जीवित रहदै आएको इतिहास र वर्तमान, गोर्खा समाजमा छर्लङ्ग छदैछ।

पहाड़, तराई, डुवर्समा युगौदेखि बाँच्दै आए तापनि तामाङ समुदायले घाम झुल्केको बिहानदेखि नै प्रकृति पुजा सँग सँगै आफ्ना आफ्ना कुल पितृलाई धुप सांग को सुवासना संगै, म्हाणी, गुम्बा आदि जस्ता पवित्र, पारम्परिक धार्मिकस्थल गएर घुँडा टेकेर, देवी देवता देउराली समक्ष प्रार्थनामा लीन रहदै आएका हुन्। दिनको घमाइलो परिवेशमा, खेतबारी झरेर, खेतीयोग्य अन्नबाली, सागसब्जी, फलफुलको उब्जनी आदि जस्तोमा लाग्दछन्। चियाकमान अनि सिन्कोना बगानतिर पनि तामाङ जातको दैनिकीको शुरुवात लगभग एक समान, पुजापाठको क्रमबाट नै शुरु हुने गर्दछ। समाजमा घटने विभिन्न अनि विविध शुभ अनि अशुभ कार्यहरूतिर काँधमा काँध मिलाउने अनि नङ र मासु बन्ने यी तामाङ जातिको जन्मजात प्रवृत्ति  रहेको समाजका अन्य जातसम्मले युगौ देखि अवलोकन गर्दै आएको, कालो र सेतो सत्य त छदैछ!

गोर्खा जातिको मुल परम्पराभित्र साइनो र नातागोताका प्रसंगहरूमा यो जातिले म्हेम्हे, नाना, आस्याङ, आङी, ज्योज्यो जस्ता थप सहोदरीय सम्मानका साइनोहरू नदिएका होइनन्।जातिय पोशाकहरूको विविधताभित्र बक्खु, पाङदेन, खादा आदि जस्ता पहिरनका मौलिकताहरू नछिरेका होइनन्।

समाजभित्र खाद्य परिकारको रूपमा, प्रसादिको भेष लिएर छोछानेको जाँड, तिनपाने घरेलू पेय मादक पदार्थ, पोलेको मासु सेकुवा, छुर्पिको परिकार, माम, आङी, नानाहरूले लगाउने गरेका आभुषणको रूपमा जी र सो मालारूपी कौड़े गलाका हारहरू, आजका दिनपनि गाउँ  घरतिर उपलब्धिका रुपमा जीवित छ।गोर्खे संगीत समाजलाई अझ थप सिङ्गार्न डम्फु र टुङना जस्ता पौराणिक वाद्ययन्त्रसँगै तामाङ सेलोका पारम्परिक अनि मौलिक ताल, लय र धुनले धनी बनाएको इतिहास छ।

विशेष चाड अनि पर्वहरूतिर गाँव गाँवका डम्फरेहरूले डम्फु बजाएर, गोर्खा जातिलाई नै जनजातिको परिचय दिलाउन छाडेका छैनन्।

तन्त्र मन्त्र जानेका तामाङ जातका वैध हाकिम र ज्योतिषि दर्जाका मानिलिने लामा, जटिल प्रजातिका रोगहरू खुट्याउने विशेषज्ञहरू, आजसम्म पनि गोर्खा जातिको सेवामा लागि नै परिरहेका छन्। गाउँका पवित्र स्थलहरूलाई, डाडा, काँडा, भन्ज्याङ देउराली आदिलाई लुङ्‌दर बाँधेर पवित्र अनि पुज्यनीय बनाउदछन् यी तामाङ समुदाय। मई महिनाको विशेष पुर्णिमाको दिन अहिंसाका महात्मा बुद्ध पुर्णिमाको जन्मजयन्ती समारोहको धार्मिक चाडले पहाड़, मधेश, डुवर्सलाई गरिमामय बनाउन छाडिएको छैन। गोर्खा जातिको पहिचानलाई गौरवशाली बनाउने तामाङ समुदायको उत्पत्ति, इतिहास र वर्तमान सबैले प्रशंसनीय रूपमा स्वीकृत गरेर ल्याएका छन्। यसैले तामाङ समुदाय, गोर्खा जाति अधिनका एक विशेष अनि विशिष्ट जनजातिको रूपमा रहेका छन्। तर गोर्खा जातिभित्र रहेका, तामाङ समुदाय र उनीहरूका जनजातियपनाको विशेष योगदान पहाड़, मधेश र डुवर्स क्षेत्रतिर यो समुदायका वासिन्दाका वस्तु स्थीति आदि जस्ता विविध यथार्थ र तथ्यहरूप्रति, पशिचम बंगाल सरकार बल्ल बल्ल संज्ञानको सङ्घारमा अडि पुग्दछन् तिथी हुन्छ 9th September 2014. पश्चिम बङ्गाल तामाङ विकास अनि सांस्कृतिक बोर्ड, स्थापित हुन पुग्छ।

यसरी तामाङ युवा सङ्गठन अनि संयोजक सन्जय मोक्तानको  साहसिक पहल र प्रयासपछि पश्चिम बंगाल सरकार अनि मुख्यमंत्री सुश्री ममता ब्यानर्जिको पश्चिम बंगाल राज्य अधिनका तामाङ समुदाय वासिन्दाहरूका सम्पुर्ण स्थीति र वाध्यताबारे अध्यन अनि अवलोकनपछि 16 th July 2014 सालको दिन एउटा सरकारी अधिसूचना जारी गरिन्छ जारी गरिएका अधिसूचनामा व्याख्या र मान्यता प्रदान गरिएका पश्चिम बंगाल तामाङ विकास अनि सांस्कृतिक बोर्डको सरकारी घोषणालाई पंजीकरण कार्यालय अन्तर्गत 9th सितम्बर 2014 सालमा पंजीकरण पनि गरिने कार्य गरिन्छ। पश्चिम बंगाल राज्य अधिनका दार्जीलिंग पहाड़, , कालेबुङ, खरसाङ, मिरिक, तराई डुवर्समा बसोबास गर्ने तामाङ जात मुलका जनजातिहरूका आर्थिक अवस्था, जीविका, व्यवसाय, आर्थिक सम्पन्नता र विपन्नताबारे यहाँहरूलाई अघिल्लो पृष्ठहरूतिर ब्याख्या गरिए तापनि पहाड़बाट शुरु गरिएका दुई ठुला ठुला जातिय अस्मिता जन आकाक्षाको नारा दिइएको आन्दोलनहरूका समझौतापछि पनि तामाङ समुदायहरूका जीवन स्तरमा कुनै परिवर्तनको खेस्राहरूमाथि नजर अन्दाज गरिएको आन्दोलन र सन्झौता इतिहासले उल्लेख गर्दछ। एकातिर २००२ सालमा तामाङ समुदायले सिक्किम अनि पश्चिम बंगाल राज्यभित्र जनजातिको दर्जा र मान्यता पाए तापनि सुख सुविधाहरू उपयोग गर्ने शुभवसर पाएका हुँदैनन्। तर तामाङ समुदायको उत्थान गरिन पश्चिम बंगाल राज्यभित्र विशेष बोर्डको गठन गरिएपछि....

एउटा राज्यका जनजाति वर्गहरूका सामाजीक रूपमा कसरि  उत्थान गर्न सकिन्छ ती  जनजातिहरू विशेष रूपमा अन्य उन्नतशील जात र वर्गको हाँचमा कसरी  उभिन सक्छन्? उनीहरूका रासो बासो, दैनिकी, जीविका उपार्जन र सामाजीक योग्यताहरूमाथि के के पहल गर्न सकिन्छ? पश्चिम बंगाल राज्य सरकारले तयारी गरिसकेको हुन्छ।

कुनै पनि जाति, जनजातिको दिन चर्या सबैभन्दा पहिला, उनको घर परिवारबाट शुरू हुने गरेको यथार्थलाई नकार्न सकिन्न। त्यस परिवारको आर्थिक स्रोत, आमदानी, श्रमिकी बेग्ला बेग्लै हुन सकछ। तर थकित, मेहनती श्रमिकहरूलाई दुई मिठो छाक खाएर एउटा मिठो निद्रा निदाउने उसको जन्मसिद्ध अधिकार रहेको हुन्छ। साधारणत: कम आय स्रोतका व्यक्ति अनि परिवारहरू प्रायजस्तो मासिक रूपमा भाडा तिरेर बस्ने गरेका हुन्छन्। ती  आम मानिसहरूका मासिक बजेटमा घरका अन्य विभागमा लाग्ने खर्चपातसितै घर भाडा प्रमुख रूपमा छुटाइने गरिन्छ। यदि कुनै महिना घर भाडा तिर्न नसके उ अनि उसको परिवार मानसिक रूपमा तनावग्रस्त रहन पुग्छन्। उनको घर भाडा तिर्न नसकेको अभावले  सामाजीक दिनचर्यामा उ अनि उसको परिवारमाथि ठुलो प्रभाव पर्न सक्छ। यी सबै कुराहरूको घोर अध्यन र अनुसन्धानपछि बोर्डका कार्यभार सम्पन्न गरिए बोर्डका अध्यक्ष अनि संगठनले तामाङ समुदायका विपन्नवर्गका परिवारका लागि आफु बस्ने घरको खाका तयार पार्दछन्। उता! पश्चिम बंगाल राज्य सरकारले पनि सबैभन्दा पहिला "ह्याङ्गलाधिम" अर्थात्  Housing Scheme -को प्रकल्पमाथि कोष आवण्टन गरिदिन्छ।

ह्याङ्गला धिम "Housing Scheme "

भनिन्छ ढिलै भए तापनि ती घर विहिन तामाङ समुदायका विपन्नवर्गका परिवारका लागि सरकारले घर निमाण गर्ने कोष जारी गरिदिन्छ। सरकारी पहलमा घरको निर्माण गर्ने कोष प्राप्तिका विभिन्न सरकारी नियम कानुन पनि संग संगै जारी गर्दछ। हाम्रा गाउँ  घरका अल्पशिक्षित वर्गको मानसिकतामा सरकारी कोषको आवण्टन सोझै रूपमा तामाङ बोर्डमाथि नै रहेको भूल धारणाले ती वर्गहरूको मानसिकतामा सरकारी नियम कानुनको माप दण्ड घुसाउन बोर्डलाई केहि हदसम्म हम्मे हम्मे समेत पार्छ। तर पनि बिस्तारो बिस्तारो तामाङ समुदायका जनसाधारणहरू सचेत बन्दै जान्छन्। घर निर्माणको क्रम पनि अघि बडदै जान्छ। एकै जिल्ला, एकै सदरमुकाम, एकै खण्डतिर मात्र घर निमाण गर्ने कार्यको प्रकल्प परिकल्पना तयार गर्दैन बोर्डले। तर दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिकतिरका नगरपालिका सँगै खासमहल क्षेत्रका विभिन्न खण्डहरू हुँदै  तराई, डुवर्स आदितिर पनि घर निर्माण गर्ने कार्यको बेली बिस्तार लाग्न थाल्छ।

2014-15 सालको बजेट अधिन १० करोड़ भित्र - 500 घरहरू निमाण गरेर उनीहरूलाई हस्तान्तरण गरिन्छ।

2015-16 साल, रु०15 करोड़ को बजेट अधिन - 700 घरहरू निर्माण गरेर तयार पारिन्छ।  2016 -17 साल रु० 15 करोड़का बजेट अधिन-750 घरहरू निर्माण गरेर तयार पारिन्छ।

2017 -18 साल रु० 20 करोड़‌को बजेट अधिन- 1000 घरहरू निर्माण गरेर तयार पारिन्छ।

2018-19 साल रू० 10 करोड़को बजेट अधिन - 500 घरहरू पुर्ण तयारीको क्रममा छ।

यसरि 2014 साल देखि 2019 सालको लामो समय अवधिमा कालेबुङ, दार्जीलिङ खरसाङ, मिरिक, तराई, डुवर्सका करीब 5000 तामाङ समुदायका विपन्न परिवारका लागि आफ्नो नाउँको निजी वासस्थानको निमाण गर्ने कार्य गर्दछ, पश्चिम बङ्गाल तामाङ विकास अनि सांस्कृतिक बोर्डले।सामान्य रूपमा तामाङ समुदाय बसोबास गरिरहेका आर्थिक समस्याको भारले परिवारलाई दुई छाक मिठो मसिनो खुवाएर आरामको निद्रा सुताउने छानो भएको सुसज्जित घर करीब करीब 5000 विपन्न परिवारलाई पहाड़, तराई डुवर्सतिर खोजी गरेर घर उपलब्ध गराउन पश्चिम बंगाल सरकारको पहल अनि सहुलियतलाई धन्य ठान्न पर्दछ। यसका साथै तामाङ बोर्डका तथ्यपरक शोध अनि अनुसन्धानका कार्यलाई पनि मुरी मुरी धन्यवादका साथ आत्मसात गर्नुपर्ने पनि हुन्छ। सरकारी कोषमाथि दुरुपयोग भयो कि भनेर शङ्का र विवाद खड़ा गर्ने तत्वहरू पनि आउछन् तर तामाङ बोर्डले आफ्नो रगत पसिना बगाएर एक एक योग्य विपन्न परिवार खोजी निकालेको प्रसङ्गमा बोर्ड धन्यवादको पात्र रहेको छ।

निर्मल बंगला "शौचालय प्रकल्प"

"ह्याङला धिम" प्रकल्प अन्तर्गत तामाङ विकास बोर्ड मार्फत करीब 5000 घरहरू निर्माणको क्रमपछि  अझ तामाङ बोर्डका  कार्यकर्ताहरूले पश्चिम बंगाल सरकारको सहयोगमा विभिन्न परिकल्पनाहरूका खाका तयार पार्दछन्। कार्यकर्ताहरू विभिन्न खण्ड सदर महकुमा, जिल्लाहरूको भ्रमण गर्न पट्टि लाग्दछन्। दिनरातको चर्चा, बहस अनि परिचर्चापछि कतिपय गाउँ, बस्ती यस्ता पनि भेटिन्छ जहाँका तामाङ समुदायहरू रहेका, आर्थिक रूपमा विपन्न परिवारहरू घरेलु शौचालय आदिबाट विमुख रहेका हुन्छन्। शौचालय जस्ता स्वास्थ्यवर्धक समस्याको सम्मुखीन परेका केहि प्रतिशत समुदायका घर परिवारहरू, आर्थिक कोषको अभावमा ग्रस्त रहेको भेटिन्छ। जुन गाउँ, बस्ती, पञ्चायती क्षेत्र शौचालयको अभावमा ग्रस्त रहेको देखिन्छ ती परिवारहरूको विस्तृत जानकारी टिपेर पश्चिम बंगाल सरकार अधिनको निर्मल बंगाल प्रकल्प अधिनमा कुल लागत रू० १करोड़ 39 लाख अनि 50,000 हजारको लागतमा  साल 2015-2016 को वार्षिक बजेट अन्तर्गत 1000 घरहरूले शौचालय पाएर लाभान्चित बन्न पुग्छन्।

जनहितको कतिपय मुलभुत समस्याहरूप्रति सरकारी निकायहरू अनभिज्ञ रहेको प्राय जस्तो देखिन्छ। किनकि गाउँ घरहरू, खण्ड, क्षेत्रहरू कुन कुन समस्याहरूबाट ग्रसित छन्? ती सबै समस्याहरूका विस्तृत जानकारी  र रिपोर्टहरू सरकारसम्म पुगेको हुँदैन या भनौं पुग्न ढिलाई भइरहेको हुन्छ। यस्तो अवस्थामा जागरूक संघ संस्थाले शोध अनुसन्धान र खोज नगरेसम्म वासिन्दाहरू ती सहलियत र त्राणको सेवाकार्यदेखि वञ्चित नै रहने गर्दछन् अनि यस्तै ससाना समस्याहरूले समयकालमा राजनितीको रूप पनि लिएको देखिन्छ । तर  तामाङ बोर्डको गठन भएपश्चात तामाङ समुदायले पाउन पर्ने धेरैवटा सरकारी सहुलियत र सेवाकार्यहरू खोजी खोजी परिकल्पनाका खाका र बुँदाहरूका रूपमा सरकारअघि प्रस्तुत गरिदै समुदायलाई लाभ आर्जन गर्नुमा धेरै सहयोग पुगेको देखिएको छ।

 

 “तामाङ युवा होस्टल "

आजको युगमा युवा जनशक्तिलाई विश्वकै धेरै जस्तो मुलुकहरूले प्रमुख उर्जा र शक्तिको रूपमा प्रयोगमा ल्याइरहेका छन्। विश्वकै धेर जस्तो सामाजीक संरचनाका आधारमा युवाहरूले आफुसिको शिल्पकारिता, प्रतिभा, सृजना र सिपहरूलाई देश राष्ट्र र समाजको सकरात्मक पक्षमा खर्च गर्दै देश, राष्ट्र र समाजको निर्माण गरिरहेका छन्। यसैले उन्नतशील राष्ट्रहरूको दाँजोमा देशलाई अघि बढाउन युवाहरू विभिन्न कार्यक्षेत्रहरूतिर अग्रसर रहेको देखिन्छ।

तामाङ समुदायभित्रका युवावर्गलाई पनि उचित मार्ग निर्देशन दिनमा तामाङ बोर्डका कार्यकर्ताहरू पछि परेको देखिन्न।

आफ्नो समुदायका युवावर्गसित रहेको विभिन्न उर्जा र जनशक्ति सहि समयमा सहि ठाउँमा जात जाति समाज जिल्ला र राज्य हुँदै राष्ट्रको हितमै प्रयोगमा आवोस भन्ने ध्येय राखेर तामाङ बोर्ड सदैव अघि बड्दै युवा शक्तिलाई  संरक्षण गर्नमा दशकौदेखि जुटेका छन्।

युवा शक्ति र युवावर्ग ध्वंसात्मक प्रक्रियाहरू लागु पदार्थको सेवन, मादक पदार्थको सेवन पछि नलागून भने एउटा ठोस सोच विचारलाई तामाङ बोर्ड ले नितान्त अघि लिएर बडेको छ।यसैले बोर्डले युवावर्गको लागि युवा आवासगृह Tamang Youth Hostel को पनि निर्माण गरेको छ। दार्जीलिङ जिल्ला अधिनको मिरिक महकुमा जस्तो पर्यटकीय स्थलमा १०० जना युवाहरू बस्न सकिने होस्टलको निर्माण कुल लागत 5 करोड़ रुपियाँको बजेटमा निर्माण हुन गएको छ। 100 बेडको युवा होस्टल, स्थान मिरिक।

दार्जीलिङ, कालेबुङ, मिरिक, खरसाङ, तराई, डुवर्स आदि ठाउँहरूबाट तामाङ समुदायका युवावर्ग आफ्नो विशेष अध्ययन, सांस्कृतिक कार्यक्रम, साहित्यिक, खेलकुद आदि जस्ता सामाजीक र शैक्षणिक विधाहरू सफलीभूत पार्न युवाहरू भेला हुने ठाउँ युवा होस्टल! तामाङ युवा होस्टल !

पेयजल सुविधाको लागि पाइपहरूको जडान

तराई, मधेश, डुवर्सको भुभाग छाडेर, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक जस्ता पहाड़ी अञ्चलको कुरा गर्नुपर्दा पेयजल समस्याको विकट स्थिति रहेको सबै महानुभावलाई ज्ञात रहेकै कुरा ठान्नुपर्ने हुन्छ । पहाड़, विशेष रूपमा वर्षायामको मौसममा भल पैह्रो आदिका प्रकोपको कारणले क्षत विक्षत बन्न पुग्दछ।  साता दिनसम्म पहाड़का राजमार्ग कहलाइने ठुला बाटो पैह्रोले पुरिन पुग्छन्, यातायातको क्रमहरू रोकिने गर्दछ। मधेश क्षेत्रबाट आयात गरिने राशीन पानी, सर सामग्रीका ट्रकहरू दुइ तिन दिनसम्म बाटो बाटै रोकिएर, पहाड़ चड्न ढिल्याई हुने गर्दछ । बर्खाको विशेष यामतिर पहाडको बजार अनि यसको भावले कहिले काहीं आकाश समेत छुने गर्दछ। साधारण समय भन्दा यस बर्खा यामतिर पिउनको लागि जड़ान गरिएका पेयजलका पाइपहरू पैहोको मारले ध्वस्त हुने गर्दछ। अब यस्तो विकट स्थितिमा टाडाका स्रोतबाट तानिएका पिउने पानी अर्थात् पेयजलका पाइपहरू छिन्न भिन्न भएर गाउँ गाउँ, बस्ती बस्ती समेत पानीको अभावले ग्रस्त बन पुग्दछ। आफ्ना तामाङ समुदायका वासिन्दाहरू बस्ने गरेका कतिपय गाउँ  र बस्तीहरूका अध्यन गरेर बोर्डले पेयजलको अभावग्रस्त गाउँ  ठाउँहरूको खाका तयार पार्दछन् अनि पाइप जडान गर्ने जनहितको कार्यमा पनि लिप्त रहदछन्। यस्तै पेयजल पाइपको जडान गर्ने प्रकल्प तयार पारेर तामाङ बोर्डले कार्य सफल पारेका पनि छन् जसमा धेरैवटा गाउँ  लाभान्वित हुन पुगेका छन्।

 जस मध्ये गाउँहरू यसरी छन्:-

१. माथिल्लो समालबोङ (जिल्ला कालेबुङ) पाइप जड़ान, कुल लागत रु० 4,60,000

२. अप्पर पेदोङ पाइप जड़ान, कुल लागत रु० 4,49,478/

३. कालीखोला निम ग्राम पञ्चायत, पाइप जड़ान, कुल लागत रु० 4,48,746

४. लङ्गभिउ टी० स्टेट (खरसाङ) पाइप जड़ान, कुल लागत रु० 4,73,906

 

हिमाली पार्क झोडा

समाज जुन स्तर, परिवेश, पर्यावरण र संरचनाभित्र बस्दछ वासिन्दाहरूका मन मस्तिष्कमा एउटा लघु रूपमा भए पनि स्वस्थ अनि स्वच्छ र हराभरा वातावरण मै बाँच्न मन पराएको भेटिन्छ। हुन त बचाइको बाध्यता र कम्पल्सन मानिसहरूको आफ्नो आफ्नो खर्च अनुसार हुने गर्दछ ।तराई, मधेशतिरको बाक्लो अनि घुइचो जनसंख्याभित्र पनि झोपडपट्टी अथवा 'स्लम' तिर पनि मानिसहरू आफ्नो हात हातमा पर्यावरण बचाऔं आदिका प्लेकार्डहरू लिएर बाँचिरहेका, संघर्ष गरिरहेका हामीले भेटेका पनि हुन्छौ। तर पहाड़लाई हामीले हाम्रो सौभाग्य मान्नु पर्ने हुन्छ, किनकि पहाड़ भने पछि चिसो हावा बगिरहने पशुपंक्षि रमाएर पाखा पर्वतका लय अवलोकन गरेर रूख पातका शितल छहारी र सियाल पाएर, रङ्गि विरङ्गि फुलहरूको सुगन्ध रसपान गर्दै हुस्सु अनि कुहिरोसित दिन चर्या बिताउने, ठाउँ ठहरको नाउँले अनि ठाउँले सुसोभित रहेको हुन्छ। यसरी  नै तामाङ बोर्डले पनि आफ्नो समुदाय बस्ने अनि बाच्ने ठाउँको एउटा उत्कृष्ट नमुना दिन मान्छे बाँच्नलाई पर्यावरण पनि स्वच्छ राख्न पर्ने उदाहरण दिनलाई मन्सोड, सिन्कोना बगान छेउका कास्योङ क्षेत्रमा हिमाली पार्क झोडाको नाउँमा एक रमणीय स्थलको निर्मााण गरेर देखाएका छन्। यसको निर्माण लागत कुल रू० 4,99,818/- रहेको भनिएको छ। पर्यटकहरू जब कालेबुङ जिल्लाको मन्सोङ कुलैन बगानको रमणीयतामा रमाउन पुग्छन्  केहिक्षण गाड़ी रोकेर हिमाली पार्कमा घुमघाम गर्दै प्राकृतिक सौन्दर्यताको रसपान नगरि आफ्नो गन्तव्य तिर कहिल्यै फर्किदैनन्। मन्सोङ, कास्योङ, रम्फु अनि कालेबुङ छेउछाउका स्थानीयहरू पनि पिकनिक खेल्नलाई यस रमणीय स्थलको छनौटलाई पहिलो प्राथमिकता दिने गर्दछन्।

यसरी तामाङ बोर्डले आफुले पाउने सहुलियतको लाभ अन्य समुदायले पनि पाउन भन्ने कार्य उदाहरण स्वरूप हिमाली पार्क निर्माण गरेर सक्षम भएका छन्।

बुद्धगया तीर्थस्थल

आफ्नो जात र समुदायको सर्वांगीन विकासको अभियान चानचुने अनि लरतरो अभियान कतै होइन अनि हुन पनि सक्दैन। सर्वाङ्गिन विकास चौतर्फी विकास  पनि हो। यस विकासमा भौतिक विकासको मात्र उठ्दैन। जात र समुदायको विकास भनेपछि ढुङ्गा, मुड़ा, गिटी, बालुवा, सिमेण्ट, रड, छानो, काँटी, मार्तोल, यातायात, मार्बल, टाइल्स आदि मात्र कदापि हुदैन। जातको सांस्कृतिक, धार्मिक, पारम्परिक, साङ्गितीक, साहित्यिक अनि संसारिक विकास पनि हुने गर्दछ। तामाङ समुदायमा थरिथरि उमेरका युवादेखि प्रौढ़ अनि वृद्ध र वृद्धा पनि बाच्दै आएका छन्। उनीहरू सबैका चासो, धोको र रहर एकैनासे कदापी हुँदैन। युवाहरूको आफ्नो वैश र उमेर हिसाबको चासो र इच्छाहरू हुने गर्दछ भने अधवैशे र प्रौढ़ अनि वृद्ध वृद्धाहरू धार्मिक र सांस्कृतिक कार्यतिर धेर झुकेका हुदछन्। तामाङ जाती युगौदेखि प्राय जस्ता बौद्ध धर्मावलम्बी रहेका हुँदछन्।उनीहरूका अध्यात्मवादमा. बुधिष्ट धर्मका दर्शन र शास्त्र धेर रहेको छ। प्रौढहरूले आफ्नो दिनको शुरूवात नै 108 माला जपेर गुम्बा आदिमा बत्ती बालेर म्हानी घुमाएर बिताउने गरेको पाइन्छ।

बिहार राज्यको बौद्धगया धार्मिक पर्यटकीय स्थलको रूपमा प्रचलित छ । प्रायजस्ता बौद्ध धर्मावलम्बीहरूका धार्मिक अनुष्ठानहरू वर्षभरि नै बौद्धगयामा सम्पन्न हुने गर्दछ।

यहि क्रममा काग्यु मोन्लाम नामको धार्मिक अनुष्ठान बौद्ध धर्ममार्गीहरूले सम्पन्न गर्ने गरेका छन्। करीब महिना दिन लामो यस अनुष्ठानमा उपस्थिति दिएर सरीक हुन पाए मोक्ष प्राप्त गरिने वैश्विक मान्यता छ। यस अनुष्ठानमा उपस्थिति दिन नसक्ने वृद्ध-वृद्धा, प्रौढहरूका एक वर्ग पनि रहेको छ। जसको इच्छा र रहर हुँदा-हुँदै पनि आर्थिक, शारीरिक रूपले असमर्थ रहने गरेका छन्। उनै प्रौढ़, युवा, वृद्ध-वृद्धाहरूलाई ठाउँ ठाउँबाट लिएर तामाङ बोर्डका स्वयंसेवकहरू  निशुल्क रूपमा महिना दिनसम्म त्यस अनुष्ठानमा सहभागिता लिन सहयोग पुर्‍याउछन्। अनुष्ठान भरिका तामाङ समुदायका यी आपा, आमा, म्हेम्हे, , मामहरूलाई घरदेखि लाने लैजाने महिनौ दिनसम्म राख्ने, खुवाउने अनि सहि सलामत आफ्नो घरसम्म पुर्‍याउने सम्पुर्ण खर्चपातको अभिभारा तामाङ बोर्डले लिने गर्दछ।

तामाङ लोछार उत्सव

तामाङ समुदायका समाज कुनै पनि भुगोल र भुपरिवेशमा किन नबाचुन आफ्नो रितीरिवाज, परम्परा अनि संस्कृतिबीच नै सदैव बाचिरहेको सबैले देखेका छन्। उनीहरूले मान्ने विविध उत्सवहरूबीचको एउटा महान पर्व लोछारलाई मानिन्छ।

संस्कृति, परम्परा आदि जस्तोसुकै किन नहोस? यस्ता खास परम्परा बीच एउटा पिडीले दोस्रो अनि तेस्रो पिडीलाई परम्परा अनि रिति थिति हस्तान्तर गर्ने प्रक्रियाको प्रत्यक्षदर्शीहरू नै सम्पूर्ण समाज हुने गर्दछ। कुन पिड़ीलाई आफ्नो मौलिक परम्पराबारे कतिको ज्ञान छ? यसबारे पनि तामाङ बोर्ड सधै नै चिन्तन मनन गरिरहेको सबैलाई ज्ञात भएकै कुरा हो। तामाङ समुदायका आफ्नो मौलिकता, संस्कृति, भाषा, साहित्यबारे सबै पिडीलाई आत्मसात गराउन हेतु नै तामाङ बोर्डले तामाङ सांस्कृतिक, धार्मिक अनि भाषिक ज्ञाताहरूलाई  देश विदेशबाट निम्ताहर ठूलाठूला गोष्ठिहरूको आयोजना पटक पटक सम्पन्न गरेको पनि अन्य समुदायका हितैषी समेतलाई ज्ञात रहेको छ।

यसोसले तामाङ लोछार जस्तो जातको महान पर्व र चाडलाई भव्यरूपमा पालन गरेर सांस्कृतिक विकासको नमुना देखाउन तामाङ बोर्ड स्वयं नै धन्यवादका पात्र समेत ठहरिन पुगेको छ। कुनै पनि उत्सव, चाड, पर्व आदि युवावर्गको समावेशबिना कल्पना नै गर्न सकिन्न। युवा उमेरको उर्जा, शक्ति, र प्रतिभा बिना जातजातिको अस्तित्व कायम कहाँ रहन्छ र ? उत्सवका विविध रंगारंग गतिविधि हुने गर्दछ, त्यसमा भेषभुषा, गरगहना, नाचगान, खानपान, नृत्य संगीत गायन आदि हुने गर्दछ। तामाङ लोछारको कार्यक्रम सम्पन्न गर्नको निम्ति सिमित समय र सिमित युवावर्ग पर्याप्त हुदैनन्।

लोछार कार्यक्रम अन्तर्गत धार्मिक विधि सम्पन्न गर्नका लागि पुजाआजा, नियमहरूको एउटा श्रृंखला नै प्रस्तुत गर्नुपर्ने हुन्छ। जहाँ पुजाका सर सामग्रीदेखि लिएर विभिन्न नियमहरूका प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। डम्फरेहरूका हुलहरूले विभिन्न शैलीका तामाङ सेलो गीत प्रस्तुत गर्दछन्, तामाङ नृत्य प्रस्तुत गरिन्छ, सुन्दर सुन्दरी युवा युवतिहरूका जातिय भुषा भुषामा फेसन परेड जस्ता आधुनिक शैलिका प्रदशनी प्रस्तुत गरिन्छ।तामाङ समुदायबीच एक अर्कालाई लोछारको शुभकामना, शुभाषिष, आदा प्रदान गरिने कार्यक्रम सम्पन्न गरिन्छ। बुढ़ापाकाबाट आशीर्वाद लिने कार्य गरिन्छ। विभिन्न प्रकारका खाद्यपरिकारहरूका रस्वादन गर्ने गरिन्छ ।

यसरी  दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलीगुड़ी, जलपाइगडी, जयगाउँ, डुवर्स आदि स्थानबाट युवा अनि वुजुर्गवर्गलाई आमंत्रित गरेर कालेबुङ मेलाटार नामक विशेष रूपमा स्थानीयहरू भेला हुने केन्द्रमा, तामाङ लोछार उत्सव बोर्डले सफलता पूर्वक सम्पन्न गर्दछ।

यस महोत्सवलाई सफल गराउन तामाङ बोर्डले महिना दिन लामो गृहकार्य गरेका हुन्छन्। युवालाई तामाङ समुदायको मौलिक संस्कृति, परम्परा रितीथितीबारे रुझान बढ़ाईरहन, उत्सुकता कायम राख्न त्यति सहज कार्य देखिन्न।  युवाहरूलाई आफ्नो जातिय भेषभुषा, गरगहना, खानपान अनि गरिमा र गौरव बचाइराख्न, बोर्डको कार्यक्रम आयोजना गर्ने उर्वरताको प्रशंसा नगरी हुन्न।

लोछार पर्व तामाङ समुदायका नव वर्ष थालनी हुने नव तिथी पनि हो। जात, समुदायलाई बचाउन संस्कृति र परम्परा बचाइराख्ने यस्तो साहसिक कार्य गरेकोमा बोर्ड स्वभाविक रूपमा आशीर्वादका पात्र बन्न जादछ।

 

डम्फरेहरूका संस्था पन्जिकरण

पशिचम बंगाल राज्यभित्रका विभिन्न जात जाती भाषीहरूका प्रतिभा, शिल्प र सीप संरक्षण गर्नका लागि राज्यसरकारले दशकौ अघिदेखि एउटा प्रकल्पको थाल्नी गरेको छ। त्यो प्रकल्प हो लोक प्रसार प्रकल्प।

यस प्रकल्पभित्र गायक, गायिका, वाद्यवादक, नृत्यक , नृत्यागना आदिले आफ्नो नाम सुचना अनि जन सम्पर्क विभागको खातामा दर्ता गर्न पर्नेछ।

वषभरिमा यो कलाकारहरूले आफ्नो प्रतिभाका प्रदर्शनि गर्ने मौका प्राप्त गर्नेछन् अनि मासिक रुपमा  १ हजार भत्ताको रूपमा नाम दर्ता गरिएका प्रतिभावन कलाकारहरूले पाउने छन्।

तामाङ समुदायभित्र पनि उच्च कोटिका डम्फूवादकहरू रहेका छन्। समुदायका विशेष कार्यक्रमहरू ती डम्फरेहरूले डम्फू बजाएर कार्यक्रमलाई रोचक बनाउने गरेका छन्।

तामाङ बोर्डको पहलमा करीब दुइसय डम्फरेहरूले आफ्ना आफ्ना नाम राज्यको सुचना अनि जनसम्पर्क विभाग अन्तर्गत पन्जिकरण अर्थात दर्ता भएको छ।

करिब २०० नाम दर्ता भएका डम्फरेहरूले मासिक रूपमा रू० १हजार प्राप्त गरिरहेका छन्।

राज्यको अन्य वाद्यवादकहरू सितारवादक,तबलावादक, भृदौवादक पखवाजवादक सरह तामाङ सस्कृतिभित्रको डम्फू जस्ता प्राचिन महत्वपूर्ण वाद्ययन्त्र अनि डम्फरे जस्ता जातीय सङ्गितका गहना मानिने डम्फरे वाद्यवादकले राज्यस्तरको मान्यता प्राप्त गर्न बोर्डद्वारा सहयोग पुगेको छ।

 

वृक्ष रोपन

भुपरिवेश अनि पर्यावरण सन्तुलन राख्नपर्ने स्थीति आजको असन्तुलित युगको माग रहेको छ।अल्पशिक्षित, अशिक्षित अनि शिक्षित जनमानससमेत पर्यावरण सन्तुलन राख्नपर्ने विषयदेखि टाड़ा रहेका छन्। बढ्दो जनसङ्ख्याको मारको कारण सिमित भुमिहरूमाथि असिमित रूपमा घर, विल्डिङ, टहराहरूको निर्माणको क्रम रोकिएको छैन।भुस्खलन जस्तो माटोका ससाना कणहरू भलमा परिणत भएर प्राकृतिक आपदाका सहज नमुना, जताततै देख्न पाइन्छ। त्यहिमाथि नाला, झोड़ा आदिको बगाइलाई प्लास्टिक र फोहोर मैलाको रासले वाधित तुल्याएको छ। ठाउँ ठाउँ तिरका बनजङ्गल कटाइले पिउने पानीको स्रोत र मुहानसमेत सुकौरो लाग्न थालिसकेको छ। सरकारी निकायहरूद्वारा सचेतनाका कार्यक्रम बग्रेल्तै रूपमा आयोजना भए तापनि सरकारले वन जोगाउन पानी जस्तो पैसा बगाए तापनि जनशक्ति अघि नआएसम्म प्रदुषण, भुस्खलन, भल पैह्रो जस्ता आपदाका घटनाहरू बेमौसम घटिरहने छन्।

नागरिक, संघ, संस्था स्वयं जागेर समाजमा अघि देखा नपरेसम्म आपदाकाण्डले महाविनाशको प्रक्रियालाई दोहोर्‍याइ रहने छ।

यस्तो सामाजीक बेस्थिती रहेको बेला तामाङ बोर्डका सदस्यहरूले पहाड़, तराई अनि डुवर्स गरेर प्रायः १ हजार बिरुवा रोपेर वन सम्पति जोगाउने सामाजीक साहसिक र सचेतनामुलक कार्य पनि सम्पन गरेर देखाएका छन्।

वृक्षरोपण जस्तो बन सम्पति जोगाउने अनि पिउने पानीको मुहान र स्रोत जोगाउने, भुस्खलनको रोकथाम गर्ने उदाहरणीय काम गरेर अनकन्डिसनल अवार्नेस देखाउन  पनि चुकेका छैनन्, तामाङ बोर्ड र यसका कर्मचारीहरू।

 

तामाङ भाषाका शिक्षक तालिम कार्यक्रम

आमाको भाषा, घरपरिवारमा बोलिने भाषा प्राय जस्तो रूपमा समुदायको भाषा नै तामाङ समुदायभित्र बोलिने अर्थात्  भावप्रकाश गरिने भाषाको रूपमा मानिन्छ। बुढापाका बाजे बोज्युहरू एक ठाउँमा भेला भएपछि उनीहरूलाई जातिय भाषा मै कुराकानी गर्न सजिलो पर्छ। तामाङ समुदायका जति पनि सांस्कृतिक, पारम्परिक र संस्कारिक विधि विधानहरू छन् ती सबै तामाङ भाषाको लिपी मै उल्लेखित रहेको छ। जबसम्म स्वजातिय भाषा साहित्य र शब्दकोष रहन्छ तबसम्म भाषाको महत्वपुर्ण गहनता र मुल्य पनि रहिरहनेछ। तामाङ भाषा, साहित्य, शब्दकोष, परम्परा संस्कृति आदिको जगेरा गर्नपर्ने आवश्यकतालाई फोकस गरेर तामाङ बोर्डले तामाङ भाषाविद श्री अमृत योजन ज्युलाई नेपालबाट निम्ताएर तामाङ भाषामा शिविरको आयोजना पनि गर्दछ। तामाङ भाषा सिकौ, तामाङ भाषा सिकाऔशिर्षक दिएर तामाङ समुदायलाई तामाङ भाषा, साहित्य, शब्दकोषका प्रयोगबारेमा समुदायका धेरै अज्ञात सन्ततिहरूले भाषाको गौणता र महत्वबारे बुझ्ने अवसर पाउद्छन्। भनिन्छ जात अनि जातिको मातृभाषा नै  नरहे जाति, संस्कृति आदि केहि रहन्न। जात अनि जातिको अस्तित्व मरेर जाने छ।

यी सब कुरोको मर्म बुझेर दुरदर्शी  बोर्डका कर्मचारीहरूले तामाङ समुदायको अस्तित्वलाई टेवा पुर्‍याउन ज्ञाताहरूलाई आव्हान गरेरे, भाषा विषयमा अन्तरंगी कार्यक्रमहरू पनि सम्पन्न गर्दछन्।

 

पुस्तक प्रकाशन

पहाड़, तराई, डुवर्स भुभागका तामाङ समुदायका विकास अनि सांस्कृतिक उत्थानको पहलमा भाषा एक प्रमुख अङ्ग अनि सुत्रको रूपमा बोर्ड सदस्यहरूको संज्ञानले ठहर गर्दछ। परम्परा, संस्कृति, रितीथिती, परम्परालाई भाषा सँगसँगै जातिय गहनतालाई पनि बचाइ राख्न आवश्यकता बोध गर्दछ। समुदायका ऐतिहासिक मर्म सँग सँगै, पुर्ख्यौली  गाथा व्यथा आदिलाई समेटी राखेर पुस्तकको रूपमा प्रकाशित गरि राखि पिडी पिडीसम्म समुदायसित सम्बन्धित रहेका किस्सा, कहानी, लोक परम्पराहरू युग युग सम्म बाँचिरहला भने बोध हुँदछ ।

यसैले पुस्तकको महत्वलाई प्राथमिकता दिँदै, तामाङ भाषामा लिखित कथा संग्रह, व्याकरण, कविता र परम्पराबारे १०० वटा जति विविध पुस्तकहरू लेखिएर प्रकाशित पनि गरिसकेको छ ।जसमा समावेश गरिएको पुस्तकहरू यस प्रकार छन्:-

१. डुवर्सला

२. बोगाल गिक बिजाराप

३. पिङ्गै म्हेन्दो

४. तामाङ ग्योत

५. डेमोज्योङला

६.  हुलबा

तामाङ भाषाका विभिन्न विधाहरू लिएर रचिएका अनि प्रकाशित गरिएका यी पुस्तकहरू तामाङ समुदायका ढिकुटीमा सम्मानित रूपमा राखिनपर्ने अनि भाषा नजानेका पिडीतलाई सिकाउन बुझाउन सहयोगार्थ लायकका पुस्तकहरू छन्। जुन पुस्तक प्रकाशित गर्ने तामाङ बोर्डले अति नै सराहनीय कार्य गरेरे देखाएको छ।

सामाजीक गतिविधीहरूमा युवाहरूलाई समावेश हुन प्रोत्साहित

आफनो समाज संगसंगै अन्य समुदाय र सम्प्रदायका विभिन्न गतिविधीहरू बिना जीवन धान्न नसकिने हाम्रो आफ्नो छुट्टै सामाजीकता रहेको छ। यसरी  सामाजीक कार्यहरूमा सहमागिता नलिएसम्म समुदायलाई प्रगतिको मार्गमा डोर्‍याउन असम्भव पनि छ। समाजमा अनेकौ यस्ता सकरात्मक कार्यक्रमहरू सम्पन्न भइरहेको हुन्छ जस्तै स्वास्थ्य सेवा शिविर, स्वच्छता अभियान, रक्तदान, धार्मिक अनुष्ठान, सामाजीक अनि साहित्यिक एवं सांस्कृतिक गोष्ठि, यस्ता अनेकौ समाजमुलक कार्यक्रमहरूमा अन्य उमेरका जनसंख्या थोरै भए तापनि युवावर्गको सहभागिता र समर्पण घेर रहने गर्दछ। युवावर्ग नभई यस्ता कार्यक्रमहरूको विचारधारा समेतको परिकल्पना गर्न सकिन्न। समाज, राज्य र राष्ट्रलाई डोर्‍याउने त आखिर युवा जागर, उत्साह नै हो।  कारण भोलिका देश थाम्ने कर्णधार स्तम्भहरू त आज कै युवाहरू हुन्। यसरी  युवाहरूका साहसिलो, जाँगरिलो, उत्साह र उर्जालाई समय अनुसार सहि ठाउँमा प्रयोग गर्नको लागि तामाङ विकास बोर्ड सदैव तत्पर अनि तयार रहने गर्दछ।

धार्मिक अनुष्ठान जस्ता एकाग्र अनि विधिपूर्वक सम्पन्न गर्नुपर्ने कार्यक्रम होस् या विभिन्न लोक परम्पराहरूमा आधारित लोक महोत्सव, चाहे राज्यका विशिष्ट अनि सर्वमान्य व्यक्ति व्यक्तित्वहरूको भ्रमण कार्यक्रम होस् या सरकारी निकायद्वारा आयोजित सबला मेलाजस्ता व्यापारिक अनुष्ठान तामाङ युवाहरूलाई तन मनका साथ यस्ता कार्यक्रममा भाग लिएर सफलता आर्जन गर्ने तामाङ बोर्डले आफ्नो परम कर्तव्य ठान्दै आएको छ।

 

विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना

तामाङ विकास बोर्डको निर्माणपछि विभिन्न समयकाल खण्डमा तामाङ युवाहरूसित भएको प्रतिभा र सृजनाका दम अनि दक्षताहरूलाई आफ्नो साहित्यिक गतिविधीमा डोर्‍याउदै सांस्कृतिक प्लेटफार्म दिँदै आएको सत्यहरू कसैको नजरबाट ओझल भएर गएको छैन।

विकास बोर्ड घर निर्माण, बाटोघाटो, पेयजल बिस्तार, होस्टल निर्माण आदि जस्ता समाजको स्तम्भ र धरोहर निर्माण गर्ने कार्यमा मात्र सिमित रहेको कदापि देखिन्न। जहाँ, जता, युवा शक्ति र उर्जा खर्च गरेर युवाजमात उत्थान गरिने बाटोहरू र माध्यमहरू देखिन्छ, तामाङ विकास बोर्ड  कहिल्यै पनि मौनता धारण गरेर हात बाधेर बस्न सकेन। खेलकुद जस्ता स्वस्थ प्रतियोगिताहरूको आयोजना गरेर खेलकुदको क्षेत्रतिर पनि स्याबासीको छाप दिलाउन कहिल्यै चुकेन तामाङ विकास बोर्ड अनि यसका सम्पुर्ण टिम।पहाड़का युवाहरूलाई खेलकुदका कतिपय पारम्परिक खेल धनुकाड प्रतियोगिता खेलकुद उत्सव, फुलबल, भलिबल, टुर्नामेन्टहरूको आयोजना गरेर युवालाई खेलकुदप्रति सकरात्मक सोच लिएर सहभागिता लिन प्रोत्साहित गर्ने काम गर्दै आएको छ तामाङ विकास बोर्डले। युवा शक्ति र उर्जाहरूलाई बिस्तार हुनलाई मैदान र क्षेत्र दिन चुकेन, तामाङ विकास बोर्ड। विकास बोर्डको पहलमा उत्साही युवाहरूले उड़ने आकाश सदैव पाउने गरेको तथ्य कसैले नकार्न सक्दैनन्।

१.  सन्  2016 मा पदोङमा शहिद कप प्रतियोगिता

२. सन् 2018 मा धनुकाँड प्रतियोगिता

३. सन् 2020 मा खेलकुद उत्सव

स्व निर्भर समुह

आजको यस बढ्दो जनसङ्ख्याको युगमा पढेका शिक्षित युवाहरूका जमात सरकारी रोजगार पाउनको लागि घुड़ा घसेर लागि परेका छन्। सरकारी नौकरी वा रोजगार पाउनको लागि घुसपेस, भाई भतिजावादको सर्वेसर्वा रहेको देखिन्छ, सुनिन्छ। कतिपय ठाउँहरूतिर सरकारी नौकरीको अभावमा युवाहरू नकरात्मक सोच लिएर कि त लागु पदार्थ सेवन कि त आत्महत्याको बाटो तिर अग्रसर भएर गएको देखिरहेका छौँ। जुन युवा शक्तिको मानसिकतामा कुण्ठित सोच विचार, नकरात्मक निर्णयका अवधारणाहरूले डेरा जमाएर बसेको छ ती युवाहरूको गलत यात्राले समाजलाई अवश्य नै अन्धकारतिर डोर्‍याएर लगि रहेको हामी सबैले देखिरहेका छौ।

युवाहरूलाई ती कुंठित विचारधाराहरूदेखि, सकरात्मक बाटोतिर ल्याउन अनि युवाहरू स्वयं स्वनिर्भर भएर व्यापार धन्दा आदिमा समावेश भएर जीविका धान्न सक्ने प्रलोभनतिर डोर्‍याउन तामाङ विकास बोर्ड केहि मात्रामा सफल पनि भएको छ।

युवाहरूलाई घरेलु ससाना कुटिशिल्पद्वारा उत्पादन गरिन सकिने रुमाल, खादा, झोला, कार्पेट, टोपी, धुप, घरेलु सजावटका सामग्रीहरू निर्माण गरेर बजार व्यवस्थापन गराउन पहाड़का लगभग 20 स्वनिर्भर समुहलाई तामाङ विकास बोर्डद्वारा तालिम अनि उत्पादन गर्न सहयोग पनि पुर्‍याएको छ ।

बोर्ड का आगामी निर्माण कार्यहरू: 2018-19 का प्रकल्पहरू

पश्चिम बंगाल तामाङ विकास एवं सांस्कृतिक बोर्डद्वारा गरिएका अनि गरिनुपर्ने कार्यक र कार्यक्रमहरको यात्रा टुङ्गिएको छैन पश्चिम बंगालको दार्जीलिङ पहाड़, कालेबुङ, खरसाङ, मिरिक आदि अनि डुवर्सका तामाङ समुदायप्रतिको उत्तरदायित्वको भार त्यति सहजै रूपमा गन्तव्यसम्म पुग्न सकिन्न।

सर्वाङ्गिन विकासको परिभाषाभित्र दुःख समस्या पिर मर्काहरू अझ धेरै छन्। बोर्डले संगाल्नुपर्ने, समेटनुपर्ने साना सानादेखि ठुला ठुला सामाजिक संरचनाका आधारहरूका सुचि अझ लामो छ।

समुदायलाई  दुख, धोको, रहर र सम्पन्न्ताको भुवरिबाट उकास्न अझ केही समय लाग्न सक्ने सम्भावनाका धरातलहरू केहि छन् तर पनि विकास बोर्ड निरन्तर रूपमा एकाग्र भएर आफ्नो कार्यदिशा तर्फ लागिरहने छ।

 आगामी निमार्ण कार्यहरू

१. ह्याङ्ला धिम प्रकल्प अन्तर्गत 599 वटा घरहरूको निर्माण, 2018-2019.

२. तामाङ होमस्टे 599 वटा होमस्टेहरूको निर्माण 2018-2019

३. झोडा (सुरक्षित पर्खाल निर्माण/ सुन्दरीकरण

४.  टिस्टा भेल्ली पेयजल निर्माण प्रकल्प

५. मन्सोड रानीवन पार्क निर्माण

६. तामाङ दाहगृह निर्माण, कालेबुङ

७. तामाङ सामुदायिक भवन ३ वटा

८. गुम्बा मरम्मतीकार्य :

९. कालेबुङ· महिला होस्टल निर्माण

१०. होमस्टे पुग्ने ससना पोनी ट्र्याक गोरेटो निर्माण

११. बृक्ष रोपन

१२. तामाङ वार्षिक स्मारिका

१३. तामाङ क्यालेण्डर

१४. डम्फु प्रतियोगिता

१५.  तामाङ  शब्दकोष

१६. बुद्धगया तीर्थस्थल भ्रमण

प्रतिकृया दिनुहोस्