स्वास्थ्य अवस्था थप जटिल भएपछि डा. केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो

पाँचथर ::इलाममा २५औं सत्याग्रहमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार काठमाडौं लगिएको छ । उनलाई लिन आएको सेनाको हेलिकोप्टर बिहान पौने ९ बजे इलामको ठूलो टुँडिखेलमा अवतरण गरेको थियो ।
इलाम अस्पतालमा उपचाररत केसीलाई एम्बुलेन्समार्फत ठूलो टुडिखेल पु¥याइएको थियो । त्यहा“बाट सेनाको हेलिकोप्टरमा राखेर थप उपचारका लागि काठमाडौं पठाइएको इलाम अस्पतालका उपचारमा संलग्न डाक्टर महेश आचार्यले जानकारी दिए । काठमाडौंस्थित महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी उनको अवस्था जोखिमपूर्ण रहेको जनाएको थियो ।
उपचारमा संलग्न डा. आचार्यका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटर पुगेको थियो । मुटुको चालमा समेत गडबडी देखिएको, पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचाप १००÷६० रहेको चिकित्सकले बताएका थिए । शरीरमा पानी चढाइए पनि ग्लुकोज दिन भने केसीले अस्वीकार गर्दै आएका थिए । चिकित्सकले ग्लुकोजको मात्रा नबढे जीवन नै जोखिममा पर्न सक्ने भन्दै आवश्यक उपचारका लागि आग्रह गरेका थिए। 
केसीले गत बिहीबार साँझ इलामको नारायणस्थानबाट २५औं सत्याग्रह सुरु गरेका थिए। उनले चिकित्सा शिक्षा आयोगले कैलालीस्थित गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस, नर्सिङलगायत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेका छन ्।

उनका मागमा मापदण्डविपरीत मेडिकल कलेजमा बढाइएका सिट खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलगायत सम्बन्धित पदाधिकारीको नियुक्ति र निर्णयमाथि छानबिन गर्नुपर्ने तथा सरकारी स्वास्थ्य शैक्षिक संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था लागू गर्नुपर्ने विषय पनि छन ्।

त्यसैगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयसम्बन्धी ऐनका विवादित प्रावधान संशोधन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने विगतका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण अघि बढाउनुपर्ने मागसमेत उनले राखेका छन् । 
सरकारले यसअघि केसीसँग भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको जनाएको छ। तर सहमति कार्यान्वयनमा ढिलाइ भएको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नभएको भन्दै उनले सत्याग्रह सुरु गरेका थिए ।
 

प्रतिकृया दिनुहोस्