पाँचथरका दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइयो

 पाँचथर ::बडादसैँको सातौँ दिन महाअष्टमीको अघिल्लो दिन शनिबार पाँचथरका विभिन्न दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा बिहान ७ बजेर ३७ मिनेटको शुभसाइतमा फूलपाती भित्र्याइएको हो । सर्वसाधारणले पनि घरघरमा स्थापना गरिएका नवदुर्गाका मन्दिरमा फूलपाती भित्र्याएका छन् ।

जिल्ला सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा रहेको सुम्हात्लुङ मन्दिरबाट फूलपाती ल्याउने परम्परा छ । तीनवटै सुरक्षा निकायका प्रमुखसहितको टोली मन्दिर पुगेर पूजाअर्चना गरेपछि सलामी अर्पण गरी फूलपाती दसैँघरमा लगिएको थियो ।

नेपाली सेनाले नवदुर्गा भवानीसहित विभिन्न देवीलाई सलामी अर्पण गरेको थियो ।

फूलपाती बढाइँ कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्