खोरेत रोगविरुद्ध खोप अभियान प्रभावकारी बनाउन छलफल
पाँचथरमा खोरेत रोगविरुद्ध खोप अभियान प्रभावकारी बनाउन सरोकारवालासँग छलफल गरिएको छ ।
खोरेत रोगविरुद्ध पशुमा खोप लगाउने अभियानको प्रगति सन्तोषजनक नदेखिएको समयमा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले पशु चिकित्सक र किसान समूहका प्रतिनिधिसँगै सरोकारवालासँग छलफल गरेको हो ।
केन्द्रले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा ६३ हजार ६१५ पशुलाई खोरेतविरुद्ध खोप लगाउने लक्ष्य राखेको थियो ।
असोज ७ गते सुरु भएको अभियानमा हालसम्म २३ हजार ८४ पशुमा मात्रै खोप लगाइएको छ । यो लक्ष्यको ३६.२९ प्रतिशत हो । केन्द्रका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये फिदिम नगरपालिकामा सबैभन्दा बढी र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम खोप लगाइएको छ ।
प्रस्तुत तथ्याङ्क अनुसार फिदिममा ६ हजार ५७९, मिक्लाजुङमा चार हजार ८५७, तुम्बेवामा चार हजार ४३७, हिलिहाङमा दुई हजार ३९३, फाल्गुनन्दमा एक हजार ८२८, याङवरकमा एक हजार ७५१, फालेलुङमा ७१६ र कुम्मायकमा ५२३ पशुलाई खोप लगाइएको छ ।
जिल्लामा पशुपालनमा सङ्लग्न परिवारको सङ्ख्या २६ हजार ७३१ अर्थात् कुल परिवारको ६४.९२ प्रतिशत रहेको छ । पशुपालनमा ठुलो जनसङ्ख्या निर्भर रहेकाले पशुमा सङ्क्रामक रोग फैलिन नदिन खोप अभियान प्रभावकारी बनाउनुपर्ने देखिएको केन्द्रका प्रमुख डा. दिपकसिं कुशवाहाले बताउनुभयो ।
खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार फिदिममा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा खोपको लक्ष्यअनुसार काम सम्पन्न गर्न स्थानीय तह, पशु सेवा प्राविधिक, खोपकर्ता, दुग्ध व्यवसायी, सहकारी र पशुपालक किसान बिच समन्वय आवश्यक रहेको औँल्याइएको छ ।
चालु आर्थिक वर्षमा जिल्लाका लागि खोरेत रोगविरुद्ध पहिलो र दोस्रो चरणमा गरी ६३ हजार ६१५ पशुमा खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । त्यसैगरी, पिपिआर रोगविरुद्ध एक लाख तीन सय बाख्रा र स्वाइन फिभरविरुद्ध २० हजार बंगुरमा खोप लगाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जिल्लामा पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न र दुग्धजन्य उत्पादनको बजार प्रवद्र्धन गर्नसमेत खोप अभियानलाई लक्ष्यअनुसार सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।



