४ हजार ३५० मिटर उचाइमा दौड, सञ्जय र कमलालाई उपाधि


पाँचथर::समुद्री सतहदेखि चार हजार ३५० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी भएको तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रनको पुरुषतर्फ इलामका सञ्जय राई र महिलातर्फ डोल्पाकी कमला क्षेत्री विजेता बन्नु भएको छ । स्थानीयतर्फ सिदिङवा गाउँपालिका–१ कालीखोलाका भरत बानियाँ प्रथम हुनुभएको छ ।
तिम्बुङ पोखरीबाट सुरु भएको २१ किलोमिटरको साहसिक दौड तीन हजार ८०० मिटर उचाइको पाङदुवा पुछार हुँदै चार हजार २०० मिटर उचाइको ठूलो भञ्ज्याङमा पुगेर टुङ्गिएको थियो । उच्च हिमाली भूभागमा आयोजना गरिएको २१ किलोमिटर दूरीका कारण यस वर्षको प्रतियोगितालाई हाफ म्याराथनका रूपमा आयोजना गरिएको आयोजक समितिका अध्यक्ष अमिर राईले बताउनुभयो ।
पुरुषतर्फ सञ्जयले एक घण्टा २४ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्नुभयो । सोलुखुम्बुका अर्जुन कुलुङ राई एक घण्टा २६ मिनेट ५८ सेकेन्डमा दोस्रो र ताप्लेजुङका फुर्वा लाक्पा शेर्पा एक घण्टा २७ मिनेट ४५ सेकेन्डमा तेस्रो हुनुभयो । सञ्जय, अर्जुन र फुर्वाले क्रमशः ८३ हजार ५२५, ६३ हजार ५२५ र ४३ हजार ५२५ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
महिला तर्फ कमलाले एक घण्टा ४६ मिनेटमा दौड पूरा गरी उपाधि जित्नुभयो । पाँचथरकी सम्झना लिम्बूले एक घण्टा ४९ मिनेटमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । 
कमलाले ८३ हजार ५२५ र सम्झनाले ६३ हजार ५२५ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । स्थानीयतर्फ भरतले एक घण्टा ३९ मिनेटमा दौड पूरा गर्दै ३३ हजार ५२५ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

तिम्बुङ पोखरी पर्यटन प्रवद्र्धन विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेवे, सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिकृया दिनुहोस्