करिब १५ वर्ष देखि छोराको बाटो हेर्दै वृद्ध दम्पती भन्छन –‘मर्नुअघि एकपटक मुख मात्रै हेर्न पाए पनि हुन्थ्यो’


पाँचथर::घरको आँगनमा कसैको पाइला परेको आवाज आउदा सुबदन राईको ध्यान उतैतिर जान्छ । बाटोमा अपरिचित मानिस देख्दा जयमायाको मनमा पनि एउटै प्रश्न उठ्छ— कतै छोरा बलबहादुर त फर्किएनन ?१४ वर्ष ६ महिना बितिसक्यो , उहाँहरूले माइला छोरा बलबहादुरको अनुहार देख्न नपाएको । न उनको कुनै खबर आएको छ, न घर फर्किने टुंगो छ । ७९ वर्षीय सुबदन र ८० वर्ष पुग्न लाग्नु भएकी जयमायाले छोराको बाटो हेर्न छाडेका छैनन । उमेरले नेटो काट्न लागिसक्यो । शरीर कमजोर भइसकेको छ । आँखा धमिला भइसके । तर छोरालाई एकपटक देख्न पाए हुन्थ्यो भन्ने आशा उहाँहरुमा अझै उस्तै छ ।

‘सुरुमा कतै गएको होला, केही समयपछि फर्केला भन्ने लागेको थियो । यति लामो समयसम्म नआउला भन्ने सोचेका थिएनौ“,’ उहाँहरू भन्नु हुन्छ, ‘अब त धेरै पिर लाग्न थालिसक्यो । जहा भए पनि एकपटक घर आइदेओस, मर्नुअघि छोराको मुख हेर्न पाए हाम्रो मन शान्त हुन्थ्यो । ’इलामको फाकफोकथुम गाउपालिका–६, सिमसाराका सुबदन र जयमायालाई अहिले छोरासँग कुनै हिसाब किताब गर्नु छैन । न धनसम्पत्ति चाहिएको छ, न कुनै गुनासो छ । उनीहरूको एउटै चाहना छ— जीवनको अन्तिम घडी आउनुअघि छोरालाई एकपटक अँगालो हाल्ने ।

२०२८ साल वैशाखमा जन्मनु भएका बलबहादुर अहिले करिब ५५ वर्षका हुनु भयो । उहाँ कहाँ हुनुहुन्छ  भन्ने परिवारलाई अहिलेसम्म थाहा छैन ।

विदेशबाट फर्किएको एक सातामै बेपत्ताबलबहादुर वैदेशिक रोजगारीका क्रममा करिब पाँच वर्ष मलेसिया र दुई वर्ष कतार बसेका थिए । कतारबाट २०६९ जेठ १ गते घर फर्कनु भएका उहाँ एक सातामै बेपत्ता हुनुभयो ।

आफन्तको काममा सघाउन देउमाई नगरपालिका क्षेत्रअन्तर्गत मेची राजमार्गको धप्पाटार पुग्नु भएका उहाँ त्यसपछि घर फर्कनु भएन । २०६९ जेठ ७ गतेदेखि परिवार उहाको सम्पर्कका लागि पर्खिरहेको छ ।बलबहादुर रमाइलो स्वभावका हुनुहुन्थ्यो । कतै जाँदा कहिलेकाही ढिलो गरी घर फर्किने बानी थियो । त्यसैले उनी घर नआउँदा परिवारले सुरुमा खासै शंका गरेन, केही कामले रोकिएका होलान्, फर्किहाल्छन् भन्ने ठाने । तर दिन, महिना हुदै वर्ष बिते। 

परिवारले आफन्त र चिनजानका मानिसमार्फत विभिन्न ठाउमा खोजी ग¥यो । हराएको केही समयपछि झापाको दमक र काँकडभिट्टा क्षेत्रमा देखिएको भन्ने खबर पनि आयो । तर त्यसको पुष्टि हुन सकेन । त्यसयता बलबहादुरको अवस्थाबारे परिवारले कुनै ठोस जानकारी पाएको छैन ।

श्रीमतीले विदेश गएर तिर्नु भयो् ऋण

बलबहादुर घर फर्किँदा परिवारमाथि पाँच लाख रुपैया ऋण थियो । श्रीमान् बेपत्ता भएपछि फूलकुमारी राईमाथि घरव्यवहार सम्हाल्ने, छोराछोरी हुर्काउने र ऋण तिर्ने जिम्मेवारी आइप¥यो ।

उहाले श्रीमान् विदेश जादा लागेको ऋण तिर्न आफै वैदेशिक रोजगारीमा जाने निर्णय गर्नु भयो । कुवेत पुगेर काम गर्नु भयो । त्यहा कमाएको पैसाले ऋण चुक्ता गर्नु भयो । अहिले परिवारमाथि कुनै ऋण  त छैन । तर श्रीमानको प्रतीक्षा भने अझै सकिएको छैन ।

‘उहा जहा भए पनि एकपटक घर फर्किदिनुहोस । हामीलाई केही चाहिएको छैन । कुनै गुनासो छैन, कुनै दोष लगाउँदैनौ’ फूलकुमारीभन्नु हुन्छ, ‘विदेश जादा लागेको ऋण पनि मैले कुवेतमा काम गरेर चुक्ता गरिसके, बूढा बुबाआमा अझै छोराको बाटो हेरेर बस्नुभएको छ,  छोराछोरी र नातिनातिनाको माया सम्झेर भए पनि एकपटक आइदिनुहोस ।’ –उहाँ भन्नुहुन्छ ।

श्रीमान् फर्किन नसक्ने अवस्थामा भए पनि कम्तीमा उहा कहा हुनुहुन्छ र कस्तो अवस्थामा हुनुहुन्छ ् भन्ने खबर पाउन पाए हुन्थ्यो भन्ने फूलकुमारीको चाहना छ । ‘एकपटक आफ्नो खबर सुनाइदिनुभयो भने पनि हामीलाई ठूलो राहत मिल्थ्यो,’ उहाँ भन्नु हुन्छ ।

हुर्किए छोराछोरी, बाबुको प्रतिक्षा 

बलबहादुर र फूलकुमारीका दुई छोरा र दुई छोरी छन । बलबहादुर हराउदा छोराछोरी सानै थिए । अहिले उनीहरू हुर्किसके । दुवै छोरीको विवाह भइसकेको छ । जेठी छोरी मनिता कुवेतमा छिन् भने कान्छी मनिसा माल्दिभ्समा । दुवै छोरा अध्ययनरत छन् ।

छोरीहरूका सन्तान समेत भइसकेका छन । तर उनीहरूको जीवनका महत्त्वपूर्ण क्षणमा बाबुको उपस्थिति हुन सकेको छैन । कतिपय नातिनातिनाले त हजुरबुबालाई अहिलेसम्म देख्नसमेत पाएका छैनन । उनीहरूका लागि हजुरबुबा परिवारले सुनाउने र तस्बिरमा देखिने व्यक्ति मात्र बनेका छन ।
अन्तिम इच्छा, छोराको एक झल्को

बलबहादुरको पुख्र्यौली घर राके–गैडे सडकखण्डअन्तर्गत फलाँटेस्थित पसल बजारनजिकै छ । त्यही घरमा सुबदन र जयमाया बस्दै आएका छन । छोराको खबर आउला कि भनेर उनीहरूले प्रतीक्षा गरेको पन्ध्र वर्ष वित्नै लाग्यो  ।

परिवारले बलबहादुर नेपालकै कुनै ठाउमा वा भारततिर हुन सक्ने अनुमान गरेको छ । दिदीबहिनी र छोरीचेलीले पनि उहाको खोजी गरिरहेका छन । तर १४ वर्षको खोजीमा अहिलेसम्म कुनै ठोस सुराक भेटिएको छैन ।

अब वृद्ध आमाबुबालाई छोराले किन घर छाड्यो, किन यतिका वर्ष सम्पर्क गरेन भनेर सोध्नु छैन । उहाँहरूलाई छोराको आवाज सुन्नु छ, अनुहार हेर्नु छ र एकपटक अँगालो हाल्नु छ ।जहा भए पनि एकपटक घर आइदेओस, हामीलाई अरू केही चाहिदैन,’ उहाँहरूको एउटै आग्रह छ, ‘मर्नुअघि एकपटक छोराको मुख हेर्न पाए पुग्छ ।’

परिवारले बलबहादुरबारे कुनै जानकारी भए इलामको फाकफोकथुम गाउपालिका–६, फलाँटे स्थित पसल बजारनजिकै सिमसारामा रहेको परिवारलाई खबर गरिदिन अनुरोध गरेको छ । १४ वर्षदेखि हराएका बलबहादुरको खोजीमा परिवारको आशा अझै मरेको छैन ।

प्रतिकृया दिनुहोस्