दशैंमा गाउँ गाउँ पुग्दैछ फिदिमको रातोमाटो 


पाँचथर::मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्डमा पर्ने चारखम्बे नजिक सडक किनारमा रातो माटोले भरिएका बोराको चाङ छ । 
सडकछेउ माटो किन्न आएका ग्राहकको भीड छ भने ट्रक र ट्याक्टरमा माटो लोड गर्न व्यवसायीलाई भ्याइनभ्याइ छ । 
कोही माटो खन्दै छन्, कोही चालेर बोरामा प्याक गर्दै छन् । दशैँ–तिहार नजिकिएसँगै घरआँगन लिपपोत गर्न प्रयोग हुने रातो माटोको माग बढेपछि पाँचथरको फिदिम ४ चारखम्बे र रातमाटेका बासिन्दा यतिबेला माटोको कारोबारमा व्यस्त भएका हुन ।

पाँचथरको फिदिम नगरपालिका–४ स्थित चारखम्बे र रातमाटे क्षेत्रकोे रातो माटो किन्न पाँचथरसँगै छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमबाट समेत ग्राहक तथा व्यवसायी आउने गरेका छन् । 
लिसाइलो र चम्किलो भएकाले घर लिपपोत गर्न उपयुक्त मानिने यहाँको माटो वर्षेनी किनेर लैजाने गरिएको छ । चाडपर्व नजिकिएसँगै माग बढ्दा स्थानीयलाई माटो खन्ने, चाल्ने, बोरामा प्याक गर्ने र गाडीमा लोड गरेर पठाउने काममा भ्याइनभ्याइ भएको हो ।

ताप्लेजुङको फुङलिङका मिलन सुनुवारले यहाँको रातो माटो लिसाइलो र चम्किलो भएकाले घर लिपपोत गर्न उपयुक्त हुने बताउनुभयो । ताप्लेजुङका नागरिकले माटो ल्याइदिन आग्रह गर्ने गरेकाले आफूले दैनिक गाडीमा माटो प्याक गरेर लैजाने गरेको उहाँले बताउनुभयो । यहाँ प्रतिबोरा एक सय रुपियाँमा पाइने माटो टाढा लैजाँदा ढुवानी खर्चसमेत जोडिने गरेको छ ।

चारखम्बेमा रातो माटोको कारोबार गर्ने व्यवसायीको संख्या पनि उल्लेख्य छ । यहाँका १० भन्दा बढी व्यवसायीले माटो बिक्री गर्दै आएका छन् । माटो खन्ने काममा दैनिक ३० जना ज्यामी खटिने गरेका छन् भने माटो चाल्ने, बोरामा भर्ने र सवारीसाधनमा लोड–अनलोड गर्ने कामबाट थप स्थानीयले रोजगारी पाएका छन् ।

व्यवसायी कृष्ण खवासका अनुसार दशैँका बेला रातो माटोको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा पनि खुद्रा बिक्री भइरहने भएकाले यो व्यवसाय चाडपर्वमा मात्रै सीमित छैन । चाडपर्वका बेला हुने कारोबारले स्थानीयको घरखर्च चलाउनसमेत सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो ।

चारखम्बे र रातमाटेबाट अहिले दैनिक पाँचवटासम्म गाडीमा रातो माटो अन्य जिल्लामा पठाउने गरिएको छ । स्थानीयस्तरमा उपलब्ध माटोको माग छिमेकी जिल्लासम्म विस्तार हुँदा यहाँका बासिन्दाका लागि आम्दानी र रोजगारीको अवसर बनेको छ । यद्यपि, माटोको उत्खनन, ढुवानी र बिक्री वितरणलाई सुरक्षित तथा व्यवस्थित बनाउनु आवश्यक देखिएको छ ।

दशैँ–तिहारमा घरआँगन लिपपोत गर्ने परम्परासँग जोडिएको चारखम्बे र रातमाटेको रातो माटो अहिले स्थानीय अर्थोपार्जनको आधार बनेको छ । चाडपर्वको रौनकसँगै बढेको मागले माटो खन्ने श्रमिकदेखि बिक्री गर्ने व्यवसायीसम्मलाई व्यस्त बनाएको हो ।

प्रतिकृया दिनुहोस्