अलकत्र तताउने क्रममा सवारी साधनमा आगलागी

पाँचथर::धनकुटाको चौबिसे गाउँपालिकामा सडक निर्माणका लागि प्रयोग हुने बिटुमिन डिस्ट्रिब्युटरमा अलकत्र तताउने क्रममा आगलागी हुँदा सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

बुधबार बिहान चौबिसे गाउँपालिका–६ धाराचोकस्थित रविराके–भेडेटार सडकखण्डमा एप्को इन्फ्राटेक प्रालिको निर्माण कार्यमा प्रयोग भइरहेको भारतीय नम्बर प्लेटको यूपी ४२ बीटी ६९२५ नम्बरको बिटुमिन डिस्ट्रिब्युटर सडकमा रोकी अलकत्र तताउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । 

घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्