युरोप स्तरीय लिम्बु याक्थुङ सम्मेलन बेल्जियममा हुँदै

 

बेल्जियम। किरात याक्थुङ चुम्लुङ बेल्जियमको आयोजनामा साउने सङ्क्रान्ति–२०८३ तथा सिसेक्पा तङ्नाम ९यले तङ्बे ५०८६० को अवसरमा दुईदिने विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

आयोजकका अनुसार २७ जुलाई २०२६ (सोमबार) बेल्जियमको Kyoto Restaurant, Tiensestraat 239, 3000 Leuven मा युरोप स्तरीय लिम्बु याक्थुङ सम्मेलन आयोजना गरिनेछ। सम्मेलनसँगै याक्थुङ मुन्धुमी प्राज्ञिक बहस शृङ्खला–२ पनि सञ्चालन हुनेछ। यसअघि याक्थुङ मुन्धुमी प्राज्ञिक बहस शृङ्खला–१ पोर्चुगलमा सफलतापूर्वक सम्पन्न भएको थियो। शृङ्खला–२ मा याक्थुङ मुन्धुम, भाषा, संस्कृति, इतिहास, दर्शन तथा समसामयिक विषयमा विद्वान, अनुसन्धानकर्ता र सहभागीहरूबीच गहन अन्तरक्रिया तथा विचार–विमर्श हुने किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष वदम योङ्हाङले जानकारी दिनुभयो।

त्यसैगरी २८ जुलाई २०२६ (मंगलबार)बेल्जियमको Boechoutsesteenweg 2, 2150 Antwerpen मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, बार्बेक्यु(BBQ)कार्यक्रम, याक्थुङ सांस्कृतिक नृत्य, केलाङ, हाक्पारे साम्लो तथा शुभकामना आदानप्रदान समारोह आयोजना गरिनेछ।

उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जर्मनीका अध्यक्ष सञ्चमान जबेगु, किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङ, किरात याक्थुङ चुम्लुङ माल्टाका अध्यक्ष प्रेम लिम्बू, किरात याक्थुङ चुम्लुङ साइप्रसका अध्यक्ष छुमन्ता तुम्बापो लगायत युरोपका विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहने जनाइएको छ।

चुम्लुङ बेल्जियमका अध्यक्ष वदम योङ्हाङका अनुसार, युरोपमा रहेका याक्थुङ समुदायबीच भाषा, मुन्धुम, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यले सम्मेलन, मुन्धुमी प्राज्ञिक बहस र सांस्कृतिक कार्यक्रमलाई एकैसाथ आयोजना गरिएको हो। उहाँले बेल्जियमसहित युरोपका विभिन्न देशमा रहेका याक्थुङरलिम्बू समुदाय, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई साउने सङ्क्रान्ति र सिसेक्पा तङ्नाम सभ्य, भव्य र ऐतिहासिक रूपमा मनाउन हार्दिक आह्वान गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्