आमाको दुध विस्थापन गर्ने वस्तुको प्रचार प्रसार र बिक्री वितरण नगर्न सुझाव
पाँचथर:: आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित विक्री वितरण र प्रचार–प्रसार गर्न पुर्णतया रोक लगाउनु पर्नेमा फिदिममा आयोजित एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५७ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागिले यस्तो बताएका हुन ।
स्तनपान गराउनु आमा र बच्चा दुवैको स्वास्थ्य संरक्षण गर्नु पनि भएकाले यस्को प्रतिश्थापन दुवैका लागि प्रत्युत्पादक हुने भएकाले जन्मेपछि कम्तिमा ६ महिनासम्म आमाकै दुध पिलाउनु पर्ने सहभागीहरुको जोड थियो ।
स्तनपानको संरक्षण, प्रवद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरणमा कानुनी नियन्त्रणबारे जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख महेश सुनारले जानकारी गराए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमूख डाक्टर दिलिप यादवले कुनैपनि अवस्थामा आमाको दुध नआएमा आयुर्वेदे सुझाए अनुसारका सतावरी चुर्ण,उखुको रस वा गाई बाख्राको दुध पिलाउन सकिने बताए ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५७ ले शिशुका लागि प्रयोग हुने पाउडर दूध, शिशु आहार तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग गरिने वस्तुको बिक्री, वितरण र प्रचारप्रसारलाई नियमन गरेको छ । ऐनको मूल उद्देश्य स्तनपानलाई संरक्षण गर्नु र व्यावसायिक प्रचारका कारण आमाहरू स्तनपानबाट विमुख नहोउन् भन्ने सुनिश्चित गर्नु रहेको स्वास्थ्य प्रमूख सुनारको भनाई थियो ।
ऐनअनुसार शिशुका लागि बनाइएका दूधजन्य वस्तुको विज्ञापनमा आमाको दूधलाई कम महत्व दिने वा प्रतिस्थापन गर्ने सन्देश दिन पाइदैन ।
यस्ता वस्तु निःशुल्क वितरण गर्ने, स्वास्थ्य संस्थामार्फत प्रचार गर्ने वा स्वास्थ्यकर्मीलाई प्रलोभनमा पार्ने कार्य पनि नियमन गरिएको छ । नियम उल्लंघन गरेमा कानुनी कारबाहीको व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले स्तनपान शिशुको पहिलो र सबैभन्दा सुरक्षित आहार भएको बताएका छन । जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु विश्व स्वास्थ्य संगठन र युनिसेफको सिफारिस रहेको उनीहरूले उल्लेख गरे ।
आमाको दूधलाई शिशुको लागि सर्वोत्तम आहार मानिनुको प्रमुख कारण यसमा शिशुको वृद्धि र विकासका लागि आवश्यक मानिन्छ । जस्ले पोषक तत्वहरू प्राकृतिक रूपमा सन्तुलित राख्न मदत गर्छ ।
जन्मपछि आउने पहेंलो गाढा दूध (कोलोस्ट्रम) शिशुको पहिलो खोपसरह मानिन्छ, जसमा रोगस“ग लड्ने प्रतिरक्षात्मक तत्वहरू प्रशस्त हुन्छन् । आमाको दूधले डायरिया, निमोनिया, श्वासप्रश्वासका संक्रमण र कुपोषणको जोखिम कम गर्न मद्दत गर्छ । साथै, शिशुको मस्तिष्क विकास, पाचन प्रणालीको परिपक्वता र भावनात्मक सम्बन्ध सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरु बता“उछन ।
विश्व स्वास्थ्य संगठन र युनिसेफका अनुसार जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गरी पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो ।
स्वास्थ्य कार्यालय पाँचथरले स्तनपान शिशुको नैसर्गिक अधिकार र आमाको जिम्मेवारी मात्र नभई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण आधार भएको भन्दै ऐनको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
कार्यक्रममा औषधी व्यवसायीहरुको पनि उपस्थिति थियो । उनीहरुलाई चिकित्सकले सिफारिस नगरेसम्म आमाको दुध प्रतिश्पन गर्ने वस्तुको विक्रि वितरण नगर्न,मेडिकल र नीजी अस्पतालमा अनिवार्य पोषण कर्नर र स्तनपान कक्ष राख्न अधिकारीहरुले सुझाव दिए ।
कार्यक्रममा स्वास्थ्य सम्वद्ध सरोकारवाला,पत्रकार,स्वास्थ्यकर्मी,सरकारी कार्यालयका प्रमूखहरु र जिल्ला स्थित स्थानीय तह र स्वास्थ्य चौकीका प्रमूखहरुको उपस्थिति थियो ।



