मोफसल

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सेफ्टीट्याङकी सफा गर्न भित्र छिरेका बेला निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । सेफ्टीट्याङ्की फोडेर राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको छ ।

स्रोत इमेजखबर