मोफसल

फिदिम नगरपालिकाका मेयरले प्रमुख प्रशासकीय अधिकृत विरुद्ध लेखे काज फिर्ताको सिफारिस

पाँचथरः फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले प्रमुख प्रशासकीय अधिकृतलाई काज फिर्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन् । गत भदौमा नगरपालिका हाजिर भएका अधिकृत घनश्याम उपाध्यायलाई विकास निर्माणको काममा अवारेध सृजना गरेकोलगाएतका आरोप सहित नगर प्रमुखले हिजो अर्थात् सोमवार मन्त्रालयमा पत्राचार गरेका हुन् ।

उनले यस अघि पनि अधिकृत उपाध्ययलाई स्पष्टीकरण पत्र लेखेका थिए । चैत १२ गते लेखिएको पत्रमा चित्त बुझ्दो लिखित स्पष्टीकरणको माग गरिएको छ । मेयर नेम्बाङकाअनुसार अधिकृत उपाध्यायले चित्तबुझ्दो जवाफ नदिएको र अनुमति नलिई बिदा बसेको हुँदा उनलाई फिर्ता पठाइएको हो ।

नगरपालिका स्रोतकाअनुसार यो बाहेक उनलाई फिर्ता पठाउने अन्य कारण पनि छन् । ती मध्ये एक हो पौवा भञ्ज्याङ–लुङरुपा सडक खण्डको बजेट । उक्त सडक खण्डका लागि आएको १ करोड ३५ लाख बजेटलाई टुक्रा पारेर उपभोक्ता समिति मार्फत गर्नका लागि नगरकार्यपालिकाबाट निर्णय भएको थियो । तर, उपाध्ययले भने उक्त निर्णय कार्यान्वयन गर्न कानुनी अड्चन रहेको अड्डी कसे पछि जनप्रतिनिधि र अधिकृतबिच विवाद सुरु भएको हो । आर्थिक वर्ष सकिन लागेको हुँदा ठेक्का प्रक्रियाले जाँदा समयमा काम नसकिने देखिएकोले उपभोक्ता समिति मार्फत चाँडो काम सक्न यसो गर्नुपरेको मेयरको भनाइ छ । तर, प्रक्रियागतढंगले मात्र चल्नुपर्ने अधिकृत उपाध्यायको अडानका बिच यस्तो विवाद सृजना भएको हो ।

अब कार्यकारी अधिकृतले नगर छाडे पछि पुनः नयाँ अधिकृत आएर कहिले काम हुने हो भन्ने स्थानीय चिन्तित छन् । सुझबुझपुुर्ण तरिकाले नगरका जिम्मेवार व्यक्तिहरूले निर्णय लिन नसक्दा आएको योजना गुम्ने खतरा रहेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।