फिचर

“ट्रान्स” पार्टी गर्न तेह्रथुम आएका सयौ पर्यटक अलपत्र !

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएपछि त्यहाँ सहभागी हुन आएका विदेशी पर्यटकहरु अलपत्रमा परेका छन् ।

महोत्सवमा सहभागी हुन भन्दै एक सय दुई देशका दुई हजार तीन सय भन्दा बढी विदेश पर्यटकहरु आएको जनाइएको छ । उनीहरुलाई धनकुटा र तेह्रथुमको सीमा क्षेत्रमा अवस्थित चित्रेबजारबाटै सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले रोकेका छन् । अहिले ती पर्यटकहरु धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले लागुपदार्थको प्रयोग, अश्लिल गतिविधी साथै खुल्ला यौन व्यवहार जस्ता क्रियाकलपाहरु हुने कारण देखाउँदै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाइएको प्रशासनले जनाएको छ । कार्यक्रम रोक लगाएको बारे प्रशासनले सार्वजनिक सूचना समेत जारी गरेको छ । गत वर्षको कार्यक्रममा पनि यस्तो किसिमको कार्य भएको भन्ने गुनासो प्रहरी कार्यालय संखुवासभामा आएको कारण रोक लगाइएको सार्वजनिक सूचनामा उल्लेख छ ।

महोत्सवमा सहभागी हुन आउने पर्यटकहरुलाई टिएमजे क्षेत्रमा फुलेका विभिन्न प्रजातीका गुराँसको अवलोकनसँगै योगा मेडिट्रसन, प्राकृतिक क्याम्पिङ, प्राकृतिक लाइभ म्यूजिक लगायतका कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष पनि सोही संस्थाले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै कार्यक्रम गरेको थियो ।

रेडियो मितेरी Live

नेपाल