फिचर

चट्याङबाट झापा र मोरङमा २ जनाको मृत्यु


विराटनगर, चैत्र २३ गते । १ नम्बर प्रदेश अन्तर्गत झापा र मोरङ जिल्लामा शनिवार चट्या, लागेर २ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा आज चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेको अवस्थामा सोही स्थान बस्ने बर्ष ४० को प्रकाश राउत निजको श्रीमती वर्ष ३५ की सुनिता राउत र निजको भाउजु वर्ष ३६ की मञ्जु राउत घाइते भएका थिए । चट्याङ लागेर घाइते भएका तीनै जनालाई उपचारको लागि ओमसाइ पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा प्रकाश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ भने २ जनाको अवस्था गम्भीर रहेको उक्त कार्यालयले जनाएको छ ।  यता मोरङको वुढीगंगा गाउँपालिका-३ मा चट्याङ लागेर १ बालिकाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ लागेर सोही स्थान बस्ने बर्ष १० की आरधना राजवंशी गम्भीर घाइते भएकी थिईन ।

चट्याङ लागेर घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।