फिचर विचार

अँह आमाकाे पालो आएन


राधा गौतम


हजुर आमाको पछ्यौरा र साडीको फेर समात्दै भित्र बाहिर अनि मेलापात जान्थे । आमाले ढिकी जाँतो गर्दा उनकै बुइ चढेर घुर्र….घुर्र …अनि ढिकी च्याइ गर्दै, गाग्रो बोकेर पँधेरा जाँदा सँगसँगै लोहोटा लिएर पछ्याँउदै सँगै पुग्थे,त्यो बेला म ।
घाँस काट्न जाँदा मुठी गन्न सघाउने,दाउरा लिन जाँदा पछ्याँउदै आमाको पछाडी पछाडी एउटा दाउरो टेकेर हँ….हँ….बाबै …..भन्दै घर फर्किन्थेँ । भाई बहिनी हेर्ने जिम्वेवारी पनि थियो मसँग । घरमा कोहि नयाँ मान्छे आँउदा बोल्न लाज लाग्थ्यो । दाजुहरु गुरुकुलबाट आएका बखत उनीहरुको धुले पाटिमा लेख्न पनि नखोजेको होइन । तर छोरी मान्छेले पढ्यो भने राम्रो हुँदैन भनेर सुनेका कुराले कता कता मुटुमा चस्स घोच्थ्यो ।
त्यो बेला घरमा वुवाआमा, हजुरवा हजुरआमा, हुनुहुन्थ्यो खुव ठुलो थियो हाम्रो परिवार । मेरी आमा उठ्ने बित्तिकै ढिकीजाँतो सकेर खाना पकाउने खोले भकारो दाउरा,पानी गर्नुहुथ्थ्यो । घरमा तीनथरी खाना पाक्थ्यो । आमा र काकीलाई चिसो ओरालेको ढिँडो । त्यो सम्झिँदा बुहारी माथि कस्तो विभेद रहेछ भन्ने अहिले सम्झना आँउछ कता कता मन पनि दुख्छ ।
८ पुगेर ९ नलाग्दै मगनी भयो । बुवाले पहिलो पटक माग्न आएको केटो फर्काउन राम्रो हुँदैन फेरि राम्रो कुलको मान्छे हो भनेर कुरो छिन्नुभयो ।
केहिदिन पछि नौमती बाजा बजाएर जन्ती आए । जन्ती आउने अघिल्लो साँझ कसार बाटिसकेर आमाले आमाले बेहुली भएर गएपछि सधैं सासु आमाका खुट्टा धोइदिनु,मिचिदिनु,कसैले केहि भन्दा मुख नफर्काउनु,बिहान सबेरै उठेर घर लिपपोत गर्नु भन्दै र्अित दिनुभयो ।
नौमती बजाएर जन्ती आँउदा मनमा चिसो पस्यो । कता कता डर लागे जस्तो भयो । खुब रोँए पनि एकैछिनमा सिँगार पटार गरेर बाहिर निकाले । जन्तीले जग्गेमा जिस्क्याएको,अनि त्यहि जग्गेमा बेहुलाको खुट्टा ढोग्न लगाएको सम्झिँदा अहिले जस्तो लाग्छ ।
जन्तीमा एकजना पनि केटी मान्छे थिएनन । पचासौं लोग्ने मान्छेको हुद्दामा एउटी बेहुली खुब कठिन भयो । घर पुगेका भोलिपल्ट बिहानैदेखि आमाले सिकाएझैं गर्न थालेँ ।
बेला बेलै आमाको याद आँउथ्यो । माइतमा घाँस दाउरा गर्ने आमा । जुठाभाँडा गर्ने आमा । मेलापात जाने आमा । लुगाफाटो धुन अनि घरको जे जति काम सबै आमाको जिम्मा हुन्थ्यो । अब मेरो दैनिकी पनि त्यसरी नै व्यतित हुन थाल्यो ।
खाँउला,लाँउला लाग्थ्यो तर त्यो कहिल्यै सम्भव भएन । दशैमा किनेका कपडा वर्ष दिनसम्म लगाइन्थ्यो । समय बित्दै गयो । बर्सेनी जसो बच्चा जन्मिए । त्यो बेला अहिलेजस्तो परिवार नियोजनका साधन थिएनन । भए पनि स्वास्थ सस्था जाँदा कुरा काट्नेहरु बग्रेल्ती । क्रमशः उमेर ढल्किँदै गयो नपढेरै दुःख गर्नुपरेको सम्झेर बनिबुतो गरेरै भएपनि छोराछोरी स्कुल पठाँउन थालेँ । पहिले आफुले पढ्न नपाएका सम्झेर छोराछोरी सबैलाई एउटै स्कुल पढाए । खाइ नखाइ कापी कलम किनि दिन्थेँ । सबैले एसएलसी पास गरे । छोरा जति एसएलसी गरेर घर छाड्दै क्याम्पस पढ्न निस्किए । छोरीहरु भ्याएसम्म नजिकका प्लस टु धाएर पढे । कोही छोरा विदेश गए । क्याम्पस पढ्न सहर गएका छोरा उतै डेरा जमाएर बसे । दुःख सुख प्लस टु सकेपछि छोरीहरु कुटुम्बका घर लागे । म अब नाती नातिनाकी धनी भइसकेँ । मैले छोराछोरी पढाँउदा सोचेकी थिँए यिनीहरु धेरै पढेर गाँउकै स्कुलमा जागिर खानेछन हामीलाई सुख्खसँग पाल्नेछन । तर समय चक्रले त्यो हुन दिएन । नाती नातिना बोर्डिङ धाउन थाले । जमाना बद्लियो । उ बेला बंैसमा लाउन मन लागेका कपडा लाउने धोको अधुरै रह्यो । खाँउ खाँउ लागेका कुरा हुन्थे तर आफु कम्मरमा पटुका बाँधेर भोक दबाउदै छोराछोरीको पेट भरेर त कहिले आधा पेट खाएर गुजारा चलाउथेँ ।
अझैपनि घरमा पाकेको फलफुल,सागपात दुध दहि कप्ल्याक्क खान मन लाग्दैन किनभने सहरमा भएका नाती नातिनाको याद आँउछ । स्कुलमा फिः तिर्न पैसा पुगेन भनेर खबर आँउछ ।
अब त बुढेसकालले भेटिसक्यो । छोराबुहारी आएर घर रुगिदेलान र तीर्थव्रत जाँउ जस्तो पनि लागेको छ । उनीहरु आएर घर व्यहार धानिदेलान भन्ने आश लाग्छ । फेरि सम्झन्छु उनीहरु गाँउ फर्केभने दुःख धेरै पाउलान । सुकसुकाउने मेरा नाती नातिनालाई मैलो लाग्ला । बुहारीका ती सुकोमल काला भाँडा माँझ्दा लिसो लाग्छ होला । घाँस दाउरा मेलापात खोले भकारो गर्न पनि कत्ति गाह«ो हुन्छ पढेलेखेका बुहारीलाई । गाँउको घरमा फर्केर आँउदा फेसवुक कि ठेसवुक पनि चलाउन मिल्दैन होला । फेरि सहरमा जस्तो ठुल ठुला अफिस हाम्रा गाँउमा छैनन छोराले कहाँ जागिर खाला, छोराछोरी पढाउने बोर्डिङ पनि छैनन । सम्झिन्छु उहिले हाम्रा पालामा त्यो मोवाइल फोन भइदिएको भा हामी पनि दिनैै पिछ्छेका फोटा खिचेर राख्थ्यौ होला । स्कुल जान पाको भए पढेलेखेका सँग बिहे हुन्थ्यो होला । अहिले त छोरो अफिस पुग्न पाको हुँदैन बुहारीहरु भीडियो कल गर्दै कुरा गर्न थालिहाल्छन ।

अनि आफ्नै भाग्लाई धिक्कार्छु म किन छिटो जन्मिएँ । मेरो पुस्ता साँच्चिकै अभागी रहेछ । न अहिलेका बुहारीहरु जस्तो सुबिधा पाए न त पहिलेका सासुहरुले जस्तो सम्मान नै । नाती नातिना सँगको साथ र माया मोह त एकादेशको कथा जस्तो । अँह मेरो पालो आएन ।

error: Content is protected !!