फिचर

किराँतीको पवित्र स्थलमा “हिन्दु” पूर्व राजाको पुजा ! मेची पहाड चढ्दै ज्ञानेन्द्र

खविन लुइटेल पाँचथर ।। पूर्व राजा ज्ञानेन्द्र शाह केही दिने भ्रमणको लागी मेची पहाड चढ्दै छन् । चैत १७ गतेदेखि २१ गतेसम्म शाहले इलाम र पाँचथरका विभिन्न धार्मिकस्थलहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार चैत १७ गते अपरान्ह शाह इलाममा आएर बस्ने छन् भने १८ गते उनी बिहान पाँचथर जाने छन् । त्यस्तै १९ गते उनले त्यहाँ स्थित सुम्हात्लुङ मिन्दर र शिवालय मन्दिरमा पूजाआजा गरेर इलाम फर्कने कार्यक्रम रहेको छ । त्यस्तै २० गते उनले इलाममा नै बिताएर २१ गते बिहान ११ बजे इलाम सदरमुकाम स्थित प्रसिद्ध माइस्थान मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । पत्रकार भेटघाट, तथा अन्र्तबार्ता जस्ता कार्यक्रम भने नरहेको टोलीका एक सदस्यले बताए ।

किराँतीको पवित्र स्थलमा “हिन्दु” पूर्व राजाको पुजा !

पूर्व राजा ज्ञानेन्द्रले पाँचथरमा पुजा अर्चना गर्न लागेको सुम्हात्लुङ मन्दिर किराँत धर्मवालम्बिहरुको प्रसिद्ध धार्मिक गन्तब्य हो । यहाँ बर्षेनी हजारौ किराँत धर्मवालम्बीहरुले दर्शन गर्ने गरेका छन् । पाँचथर सदरमुकाम फिदिम ४ मा अवस्थित यस मन्दिरमा ज्ञानेन्द्रलाई किराँत धर्मगुरुद्धारा समेत अभिषेश गरिने कार्यक्रम यहाँ स्थित आयोजकले तय गरेका छन् । हिन्दु र किराँत दुवै संस्कार अनुसार ज्ञानेन्द्रले पुजा गर्ने स्थानीय आयोजकले बताएका छन् ।

विष्णुको अवतार लिम्बूको मन्दिरमा !

कतिपय लिम्बू समुदायका अगुवाहरुले भने पूर्व राजाको किराँत मन्दिरको दर्शनलाई लिएर शंका ब्यक्त गरेका छन् । उनिहरुका अनुसार किराँतीहरुले पुज्दै आएको मन्दिर पूर्व राजाले दर्शन गर्नुको काँरण स्थानीय आयोजकले स्पष्ट पार्न नसकेको गुनासो छ । राजतन्त्र रहेकै अवस्थामा राजालाई हिन्दुहरुले विष्णु भगवानको अवतारको रुपमा पुज्ने गरेको बताउँदै लिम्बूवान आन्दोलनमा सकृय भूमिका निर्वाह गर्दै आएका कमलराज नेम्वाङले लिम्बूहरुको ऐतिहाँसीक स्थलमा साँस्कृतीक औपनिवेशिता लाद्ने अभ्याष त हैन ? भनेर प्रश्न गरेका छन् । सुम्हात्लुङ मन्दिर लिम्बूहरुको ऐतिहाँसिक स्थल भएकोले किराँतीहरुको धर्म संस्कार र मर्यादामा आँच आउँने किसिमले पुजा, अर्चना नगर्न पूर्व राजाहरुलाई स्थानीय लिम्बू समुदायका अगुवाहरु आग्रह गर्छन् ।

१८ सय ३१ साल श्रावण २२ गते लिम्बूवान संग शाहवशंका पूर्खा पृथ्वी नारायण शाहले गरेको सन्धी समेत हाल सम्म कार्यान्वायन नभएको भन्दै शाह वंश संग लिम्बूवानको पुरानो सम्बन्ध रहेको लिम्बूवान आन्दोलनका अर्का अगुवा सागर केरुङले सुनाए । लिम्बूवानी माटोमा राजालाई हार्दीक स्वागत गर्ने तर राजा आएर पुजा गर्दा किराँत धर्म र संस्कारमा चोट पुग्ने विषयमा विशेष ध्यान दिनुपर्ने उनको तर्क छ । –“ मन्दिर सबैको साझा हो तर हाम्रो धार्मीक भावनामा चोट नपुगोस, सुम्हात्लुङ मन्दिर सुम्हात्लुङ नै रहनुपर्छ राजा आएर पुजा गर्दैमा सिद्धकाली बन्न पाउदैन् । नत्र हामी पनी शिवालयहरुलाइ “किराँत माङहिम” नामाकरण गर्नेछौ उनले भने”