मोफसल

प्रश्नपत्र बाहिरिएपछि एसइइका विद्यार्थीले हाने सिडिओ कार्यालयमा ढुंगा

पाँचथर :दुई नम्बर प्रदेशमा एकपछि अर्को गर्दै एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थी आन्दोलित भएका हुन् । सडकमै उत्रिएर विद्यार्थीले विरोध प्रदर्शन गरेपछि प्रदेश नम्बर २ का अधिकांश शहरी क्षेत्र तनावग्रस्त बनेको छ ।विद्यार्थीहरुले ठाउँ–ठाउँमा आगजनी र ढुंगामुढा गरेका छन् । पर्सा, बारा, धनुषा, महोत्तरी, रौतहटलगायत जिल्लामा विद्यार्थी सडकमा उत्रिएका छन् ।

जनकपुरमा परीक्षा रद्द भएलगत्तै विद्यार्थी आक्रोशित बने । परीक्षा रद्द भएको सूचनालगत्तै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरमा प्रदेश सरकारको कार्यालय अगाडि विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तोडफोडको प्रयास गरेका छन् । आक्रोशित विद्यार्थीहरुले ढुंगा प्रहार गर्दा केही सवारीमा क्षति पुगेको छ ।उनीहरुले मुख्यमन्त्री र शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

वीरगञ्जमा पनि प्रदर्शन र तोडफोडः प्रहरीद्वारा अश्रुग्याँस प्रहारवीरगञ्जमा पनि परीक्षा रद्द भएको आक्रोशमा विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट, ट्राफिक लाइट र डिभाइडरमा आगजनी गरेका छन् ।

विद्यार्थीहरु तोडफोड र आगजनीमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका हुन् ।त्यसैगरी परीक्षा रद्दको विरोधमा रौतहटको चन्द्रनिगाापुर बजारमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका छन् ।

आज पनि एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।सामाजिक सञ्जालमा प्रश्नपत्र ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो ।

बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएको हो ।त्यसपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । कार्यालयका उप–नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश नं २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिनुभएको थियो ।

परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।नियमिततर्फको परीक्षा रद्द गरिएपनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत सञ्चालन भएको छ ।

स्रोत इमेज खबर