विचार

लिम्बुवान स्प्रीङ आन्दोलनबारे सागर केरुङको बिचार

सन 2019 मार्च 10 मा सुरु भएको लिम्बुवान स्प्रीङ आन्दोलनको जताततै चर्चा छ अहिले । सकारात्मक र नकारात्मक टिप्पणीहरु भइरहेको छ । यस प्रसंगमा पंक्तिकारले केहि कुरा छोटकरीमा ओकल्ने छ । विश्वभरी छरिएर रहेका मान्छेहरुको एउटै सपना,एउटै भावनालाइ एकीकृत गर्दै वैचारिक आन्दोलनको रूपमा संसार भरी छरिएर रहेका बिभिन्न पार्टी,जाती,वर्ग,समुदायका लिम्बुवान चाहाने युवाहरुले जन्माएको आन्दोलन हो लिम्बुवान स्प्रीङ आन्दोलन । आज लिम्बुवानवासी युवाहरु,लिम्बुवान माटोलाइ मायाँ गर्नेहरु अध्यन अध्यापन तथा रोजगारीको शिलशिलामा विभिन्न राष्ट्रमा पुगेका छन् । भौगोलिक हिसावले धेरै टाढा भएपनि सामाजिक संजालमा जोडिएका छन । आफ्नो उज्ज्वल भबिस्य पनि बनाउनु छ,अनि आफ्नो बिरासत जोगाउनु छ,इतिहास बचाउनु छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभुमि र पहिचानको आधारमा स्वायत्त राज्यहरु निर्माण गर्नुपर्नेमा राज्यले कुनै इतिहास र पहिचान नसमेट्ने ७ प्रान्त बनाएर लिम्बुवानको इतिहास नै मेट्न खोजेको छ । लिम्बुवान आन्दोलन आफैमा लामो ईतिहास बोकेको आन्दोलन हो । यसको राजनैतिक सामाजिक साँस्कृतिक आधारहरु छन् । लिम्बुवानमा भएको सामाजिक—साँस्कृतिक र राजनीतिक विभेद नै यो आन्दोलनका कारणहरु हुन् । आज लिम्बुवान स्प्रीङ आन्दोलन जन्मिएको छ । यस्तै अरव स्प्रीङ आन्दोलन सन् २०१० मा मध्य पश्चिम एशिया एवं उत्तरी अफ्रिकामा शुरुवात भएको हो । यसको शुरुवात टयुनीशियामा मे १८, २०१० मा मोहम्मद वाउजिजीको आत्मदाहाबाट भयो । त्यसपछि यसको ज्वालाले अल्जेरिया, इजिप्ट, यमन , बहराइन हुदै सम्पुर्ण अरुब लिगलाई प्रभावित गर्यो । यस आन्दोलनले अरब क्षेत्रका राज्यसत्ता नै हल्लिन पुग्यो भने कतिले सत्ता छोड्नु पर्ने अवस्था आयो । यो एक किसिमले स्यामुल पी हटिङटनको थर्ड वेभ अफ डेमोक्रेसी पछि फोर्थ वेभ अफ डेमोक्रेसी थियो । यो आन्दोलन मुख्य गरी तानाशाही, मानवअधिकारको उलंघन, वेरोजगारी र राजनैतिक भ्रष्टचारको विरुद्ध थियो । लिम्बुवान स्प्रीङ आन्दोलन पनि लिम्बुवान बिरोधि,भ्रस्टाचारी,बलात्कारी विरुद्ध हो । यो आन्दोलन कुनै पार्टी,संघसंस्था वा ब्यक्तिको विरुद्ध होइन । अहिले सामाजिक संजालमा लिम्बुवान स्प्रीङ आन्दोलन सँग जोडेर जिउँदै ब्यक्तिहरुलाइ श्रद्धाञ्जली दिने,कुनै सामाजिक संस्थाहरुलाइ गालीगलौज गर्ने कार्य गरेर केहि ब्यक्तिहरुले यो अभियानलाइ असफल बनाउन लागिपरेको छ । यो लिम्बुवान स्प्रीङ आन्दोलनको बिपरित हुन आउँछ । लिम्बुवान स्प्रीङ एइटा वैचारिक आन्दोलन हो,सामाजिक आन्दोलन हो । अरब स्प्रिङ आन्दोलनमा सामाजिक सन्जालको अत्यन्त ठुलो भुमिका थियो । राजनैतिक विज्ञानले सुचना र सन्चारलाई राजनैतिक चेतना जागृत गराउने आन्दोलनका प्रमुख हतियारको रुपमा लिन्छ । वर्तमान अवस्थामा सामाजिक सन्जालको भुमिका पनि त्यही देखिन्छ । अरब स्प्रिङमा सामाजिक सन्जालले नै मानिसलाई चेतना र सडकमा संगठित हुन सहयोग गरेको थियो । लिम्बुवान आन्दोलनमा सुचनाको पहुँच अभिवृद्धी गर्न सामाजिक सन्जालको अत्यन्त ठुलो भुमिका हुन्छ । खासगरी मुख्य सन्चारले लिम्बुवान र पहिचानको आन्दोलनलाई नसमेटेका अवस्थामा सामाजिक सन्जाल नै सबैको पहुँच पुग्ने र एकमात्र विकल्प हुन गएकोछ । यस्तो अवस्थामा लिम्बुवान स्प्रिङ आन्दोलन सामाजिक सन्जालबाट शुरुवात गर्नु बाध्यता पनि हो । हिजो पनि यस अभियानमा लागेका साथीभाईहरुको सामाजिक सन्जाल मार्फत यस लिम्बुवानको भाषिक, साँस्कृतिक र राजनीतिक अभियान सन्चालन गर्न महत्वपुर्ण योगदान रहि आएको छ । लिम्बुवान स्प्रिङ आन्दोलनले लिम्बुवानमा सुतेका सिँहहरुलाई उठाउनेछ, राज्यबाट भएका सामाजिक, साँस्कृतिक, राजनीतिक र धार्मिक विभेदहरुको भण्डारफोर गर्नेछ, लिम्बुवान आन्दोलनलाई एकिकृत बनाउदै अहिले चार तिर फैलिएको आन्दोलनलाई एकठाउँमा ल्याउने अभियानमा अघि बडाउनेछ । न्याय र समनताको आन्दोलनलाइ विभिन्न धार्मिक,भाषिक र ब्यक्तिगत इगो ब्यक्त गर्न कसैलाई लिम्बुवान स्प्रीङ आन्दोलनको ब्यानर प्रयोग गर्न दिइने छैन । यो आन्दोलन विद्वान बिद्वुसी,वैचारिक ब्याक्तीहरुको आन्दोलन हो ।
जय लिम्बुवान !

  • लेखक लिम्बुवान स्प्रीङ आन्दोलनका एक अभियन्ता सागर केरुङ हुनुहुन्छ ।