मोफसल

इलाम आगलागी अपडेट १ करोड ४० लाखको क्षति ५ घर जलेर नष्ट

पाँचथर : इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी प्रवेशद्वार अगाडिको होटलमा बिहीबार भएको आगलागीबाट ५ वटा घर जलेका छन्।
दिउँसो स्थानीय चक्रदिप मुखियाको भान्साघरबाट सुरु भएको आगोले ५ वटा होटल र होटलमा भएका सर सामान जलेर पूर्ण रुपमा नष्ट हुँदा १ करोड ४० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चक्रदिप मुखियाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ। यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान , नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ। आगलागीबाट कमल मुखियाले संचालन गरेको १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ।

यस्तै आगलागीबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षति भएका छ भने मिङमादिकी शेर्पाको होटल जल्दा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन जलेर नष्ट भएको छ।