फिचर

ताप्लेजुङका गाँउ गाँउ घुमेर हतियार बटुल्दै प्रहरी

पाँचथर : हिमाली जिल्ला ताप्लेजुङमा सुरक्षालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रबाट हात हतियार संकलन सुरु गरिएको छ । अवैध रुपमा लुकाएर राखिएका तथा लाइसेन्स लिएर आधिकारिक रुपमा राखेका हातहतियारहरु संकलन गर्न जिल्ला प्रशासनले सुरु गरेको हो ।
जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका फक्ताङलुङबाट १० वटा हात हतियारहरु संकलन गरिएको छ । ९ थान भरुवा बन्दुक र एक थान एकनाले बन्दुक बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी संकलन भएका भरुवा बन्दुकहरु सार्वजनिक गरेको हो ।
फक्ताङलुङ गाउँपालिकाको ईखाबु, लिङखिम तथा खेजेनिमबाट ती हतियार संकलन गरिएको प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा बन्दुक पड्किएर जनधनको क्षति भएको तथा जिल्लामा अवैध शिकार गर्नेको संख्यासमेत उल्लेख्य मात्रामा बढेको हुनाले हा हतियार संकलन गरिएको डीएसपी थापाले बताउनुभयो ।
जिल्लाको मैवाखोला, सिदिङवा, फक्ताङलुङ तथा आठराई त्रिवेणी गाउँपालिकामा अवैधरुपमा शिकार गर्नेको संख्या बढेको भन्दै मैखिक रुपमा हल्ला आएको हुनाले पनि हात हतियार संकलन गर्न सुरु गरिएको हो ।
हातहतियार संकलनको लागि गएको माघ महिनामा जिल्लाका सबै गाउँपालिकालगायत सर्वपक्षीया भेला राखी सहमति जुटाएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । त्यसपछि फागुन ९ गते सम्पूर्ण स्थानीय निकायलाई हातहतियार संकलन गर्नका लागि पत्र पठाएको प्रजिअ भण्डारीले बताउनुभयो ।
त्यसपछि हतियार संकलन थालिएको र पहिलो पटक फक्ताङ्लुङबाट संकलन गरिएको बताउँदै प्रजिअ भण्डारीले सूचना प्रवाह गरेपछि स्वतःस्फुर्त रुपमा केही संकलन भएका र सुराकीका आधारमा घर गई हतियार ल्याएको समेत बताउनुभयो ।